काठमाडौं : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ मा प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जाने घोषणा गरे । यही घटनाले नेपाली काँग्रेस विभाजन भयो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोजमा देउवालाई असक्षम घोषणा गरी सत्ता हातमा लिए ।

देउवाद्वारा विघटित प्रतिनिधिसभाको पुनःस्थापना पछि मात्र भयो । देउवाले चुनाव गर्न सकेनन् । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरे । त्यतिबेला देउवाले गोर्खाली राजाले न्याय गरेको भने । तर, पुनः ज्ञानेन्द्रले देउवालाई हटाए । राजाले प्रत्यक्ष शासन गरे ।

प्रतिनिधि सभा विघटन गरी चुनाव गर्न नसकेको आरोप लागेका देउवालाई उक्त घटनाले लामो समयसम्म राजनीतिक धक्का लाग्यो । देउवा जति भाग्यमानी मानिन्छन् उति नै सत्तामा पुग्दा दुर्भाग्यशाली घटना दोहोरिन्छन् ।

२०७४ सालको चुनाव हुँदा देउवा प्रधानमन्त्री थिए । उनले अन्तिम समयमा प्रचण्डबाट धोका पाए । प्रचण्ड केपी शर्मा ओलीसँग मिले । देउवाले चुनावमा धक्का खाए ।

अहिले देउवा प्रधानमन्त्री हुँदा चुनावलाई पछि धकेल्न खोजिदैछ । २०७९ मंसिरमा प्रतिनिधि सभाको कार्यकाल सकिने भएपनि फागुनमा धकेल्न खोजिदैछ । यसका लागि ऐन संशोधनको कुरा हुँदैछ । तर, अर्को वर्ष फागुनमा चुनावमा जाँदा प्रतिनिधिसभा विघटन गरेर जाने परिस्थिति बन्न सक्छ । स्थानीय निकाय पनि जनप्रतिनिधिविहिन हुनसक्छ ।

निर्वाचित निकाय विहिन बनाएर देशलाई लान खोज्दा अर्को संकटको खतरा पनि छ । देउवा अहिले प्रचण्डको रणनीति अनुसार चुनाव अर्को फागुनसम्म धकेल्न खोज्दैछन् । चुनाव जति धकेल्यो उति लामो समय प्रधानमन्त्री बन्न पाइने देउवाको बुझाई हुनसक्छ । तर, संविधान अनुसार समयमै चुनाव नगर्दा देउवाले राजनीतिमा अर्को असक्षमताको ट्याग भिर्नुपर्ने परिस्थिति बन्न सक्छ । प्रचण्डले यसमा पनि रणनीतिक चार्तुयता देखाइरहेका छन् ।

देउवाको हातबाट ओलीलाई कमजोर बनाई शक्ति सञ्चयमा प्रचण्ड लागेका छन् । लामो समय सत्ताबाट टाढा राखेर ओलीलाई कमजोर पार्ने र राजनीतिक शक्ति आर्जन गर्ने उनको रणनीति सफलतातर्फ बढिरहेको देखिन्छ ।

सम्बन्धित खवर