काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगरबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष नजिक पुगेको दाबी गरेका छन् ।
दिउँसो ३ बजेदेखि जारी बैठकबारे संवाददाताहरुलाई जानकारी गराउँदै बैठक जारी रहेको र निष्कर्षको चरणमा पुग्नै लागेको बताए।
‘हामी निष्कर्षको नजिक पुगेका छौं,’ कार्कीले भने, ‘बैठक जारी छ । छलफल सकरात्मक छ । हामी निष्कर्षको चरणमा पुगेका छौं ।’ कार्कीले ६ महानगर र ११ उपमहानगरबारे समग्रमा छलफल गरिरहेको जानकारी गराए।
मंगलबार भएको बैठक पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने, नछाड्ने विषयमा विवाद भएपछि निष्कर्षविहीन भएको थियो । तर, आजको बैठकमा पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति जुटेसँगै ६ महानगरको भागबन्डा सकिएको बताइएको छ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने छ। माओवादी केन्द्रले भरतपुर र जनता समाजवादीले वीरगञ्ज महानगर पाउने भएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech