जनकपुरधामको मेयर जसपा र उपमेयर कांग्रेसलाई

काठमाण्डौ । सत्ता गठबन्धनले बुधबार जनकपुरधाम उपमहानगरपालिकाको टुङ्गो लगाएको छ ।

बुधबार बसेको गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी(जसपा) र उपमेयर नेपाली कांग्रेसलाई दिने निणर्य भएको छ ।

यसका साथै पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् । मंगलबार अबेररातिसम्म चलेको बैठकमा जनकपुरधाम उपमहानगरपालिकाको लाग्न सकेको थिएन् । जसपाले अडान राखेपछि राति जनकपुर र नेपालगंजको टुंगो लाग्न सकेको थिएन् । बुधबार बसेको बैठकले दुवै उपमहानगरपालिकाको टुंगो लगाएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्षनेताको बैठकले सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन दलबीच कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जनकपुर, जितपुर-सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बैठकको सहमति छ ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले जितपुर-सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

एकीकृत समाजवादीले हेटाँैडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुख तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ ।

साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ । सो सहमतिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

सकारात्मक निणर्यःअध्यक्ष यादव

पाँच दलीय सत्ता गठबन्धनले बुधबार जनकपुरधाममा गरेको तालमेललाई जनता समाजवादी पार्टी(जसपा) नेपालका धनुषा अध्यक्ष पशुपति यादवले सकारात्मक बताएका छन् ।

गठबन्धनमा आवद्ध दलका शिर्षस्त नेताहरुले गरेको निणर्य स्वीकार गरेर अघि बढ्नको लागि सबैमा आग्रह समेत गरे । कुनै एक व्यक्तिले अस्वीकार गर्दैमा गठबन्धनमा कुनै फरक नपर्ने उनले बताए । गठबन्धन व्यक्तिसित होइन, उनले भने-दलहरु बीच भएको हो । यसलाई सबै दलका साथीहरुले आत्मसाथ गरेर अघि बढनुपर्छ । नेतृत्व तहको निणर्यलाई स्वीकार गरेर अघि बढ्दा गठबन्धनलाई फाइदा हुने तर्क उनको थियो । अव यो कुनै एक पार्टीको होइन, गठबन्धनको उम्मेदवार हुने भएकोले यसलाई स्वीकार गरेर जानुपर्ने अध्यक्ष यादवले बताए ।

साथीहरु आक्रोसित भएपनि निणर्य मान्नुपर्छः सभापति पजियार

जनकपुरधाम उपमहानगरपालिकाको मेयर छाड्न सहमत भएपछि नगर समितिका साथीहरु आक्रोसित बनेका नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले बताएका छन् । नगरका साथीहरुमा आक्रोस छ, उनले भने-यसपाली जनकपुर जित्ने अवस्थामा थियौं । तर, पाँच दलीय गठबन्धनको निणर्य स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।

नेतृत्व तहले गरेको निणर्य सबै साथीहरुले स्वीकार गरेर गठबन्धन धर्म निर्वाह गर्नुपर्छ, उनले भने-गठबन्धनमा आवद्ध सबै दल मिलेर जानुपर्छ ।

जनकपुरमा यसपाली संगठन बलियो देखिएकोले चुनाव जित्नेमा साथीहरु विशवस्त थिए ।

निणर्य मान्दिन्ःसभापति मनोज

गठबन्धनको निणर्य आपूmहरुले नमान्ने नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले बताएका छन् ।

केन्द्रले गरेको निणर्य मान्न आपूmहरु बाध्य नरहेको सभापति साहले बताए । साह जनकपुरधामको मेयरमा उम्मेदवारी दिने तयारीमा थिए । तर, गठबन्धनले बुधबार जनकपुरको मेयर जसपाको लागि छाडेको छ । मेयर छाड्न सहमत भएपछि कांगे्रस जनकपुर नगर समिति आक्रोसित बनेका छन् । सभापति साहले आफूहरूले नेतृत्व कुनै हालतमा नछोड्ने बताए ।

जनताको भावनाविपरित भएको निणर्य कुनै पनि सर्तमा नमान्ने उनले थपे ।

“जसपाबाट उठ्ने उमेदवार भ्रष्टाचारी हो । भ्रष्टाचारीलाई कसरी भोट दिन्छु ?,“ उनले भने, “जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसको आफ्नै उमेदवार हुन्छ । मेयर हामी कुनै पनि हालतमा छोडदैनौँ ।“

स्वागत योग्य निणर्यः अध्यक्ष विष्णुदेव

जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनले गरेको निणर्य स्वागत योग्य रहेको जनता समाजवादी पार्टी(जसपा) जनकपुर नगर समितिका अध्यक्ष विष्णुदेव साहले बताएका छन् । गठबन्धनमा आवद्ध दलहरुले समझदारी गरेर अघि बढनुपर्नेमा उनले जोड दिए । जसपा नगर समितिले गठबन्धन धर्म निर्वाह गरेर अघि बढने उनले बताए ।

गठबन्धनमा आवद्ध दलहरुले मेयरमा जसपालाई सहयोग गर्छ र उपमेयरमा जसपा लगायत गठबन्धनमा आवद्ध दलहरुले नेपाली कांग्रेसलाई सहयोग गर्ने उनले थपे । गठबन्धनले निणर्य गर्न नसक्दा जसपाले जनकपुरधाम उपमहानगरपालिकामा मेयरको नाम सिफारिस गरेको थिएन् । बिहीबार दिउँसो बस्ने नगरको विस्तारित बैठकले मेयर पदको लागि नाम संकलन ग रेर जिल्लामा सिफारिस गर्ने भएको छ ।

जसपाबाट लालकिशोर साह पुनः मेयरको उम्मेदवार हुने करिब पक्का छ ।

 

सम्बन्धित खवर