जनकपुरधाम : टिकट वितरणको विषयलाई लिएर जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेशमा विवाद भएको छ । टिकटको लागि मुजेलियाको राजदरबार होटलमा भेला भएका कार्यकर्ताले पार्टीका कार्यकारिणी समिति सदस्य गजाधर यादवमाथि हातपात समेत गरेका छन् ।
टिकट नपाएर असन्तुष्ट नेता र उनका कार्यकर्ताले होहल्ला गर्दै होटलमा रहेका यादवलाईमा कुटपिट गरेका छन् । लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष पदको टिकटमा विवाद छ । निवर्तमान गाउँपालिका अध्यक्ष विन्देश्वर यादवका छोरा डा. सत्रुधन यादव र अर्का जिल्ला सदस्य सत्रुधन यादवबीच प्रतिस्पर्धा छ । पार्टीले डा. यादवलाई टिकट दिन लागेको सुइको पाएपछि अर्का सत्रुधनका समर्थकले होहल्ला गर्दै विरोधमा उत्रेका थिए ।
विवाद बढ्दै जाँदा टिकट वितरण नगरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव फर्केकी छन् । उनी टिकट वितरण गर्नको लागि हिजो साँझ जनकपुर आएकी थिइन् । टिकट नपाएका असन्तुष्ट नेता र कार्यकर्ताले होहल्ला गर्दा होटलको स्थिति तनावपूर्ण बनेको एक जना नेताले बताए । स्थिति अनियन्त्रित भएपछि सुरक्षा घेरामा मन्त्री यादव होटलबाट बाहिरिएकी उनले बताए ।
मन्त्री यादवले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका मेयरको लागि विनोद यादव र मुखियापट्टी मुसरनिया गाउँपालिकाको अध्यक्ष पदको लागि जयकुमार यादवलाई मात्रै टिकट दिएकी छन् । मधेश प्रदेशको आठै जिल्लाका नेताहरुलाई टिकट वितरण गर्नको लागि जसपा कार्यकारिणी समिति सदस्य समेत रहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले मुजेलियास्थित होटल राजदरबारमा बसेका थिए । मधेश प्रदेशसहित देशभर आजदेखि उम्मेदवारहरुले मनोनयन पत्र दाखिला गराउँदैछ । तर, जनता समाजवादीले अभैm उम्मेदवारहरुलाई टिकट वितरण गर्न सकेको छैन् । टिकट वितरणमा आर्थिक चलखेल भइरहेको आरोप असन्तुष्ट कार्यकर्ताले लगाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech