मल बोकेर जाँदै गरेको दुईवटा ट्रकबाट किसानहरुले मल खोसेका छन् । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ जाँदै गरेको दुई वटा ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।

अवैध रुपमा रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले बताए । उनले भने, ‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं ।’

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४÷५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो ।

दुबै ट्रकहरुले एउटा सामान भनेर अर्कै सामान ल्याइएको थियो । आचार्यले भने, ‘एउटामा गहुँ भनेर र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको रहेछ, हिजो चेकजाँच गर्दा मल ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको सुरक्षामा राखिएको थियो ।’

सम्बन्धित खवर