जनकपुरधाम । मधेश प्रदेशमा कोभिड–१९ बिरुद्धको खोपबाट बञ्चित गर्भवती, अपांग र बिरामी परेकाहरुका लागि घुम्ती खोप सेवा सुरु भएको छ । मधेश प्रदेशको ८ जिल्लाको १ सय ३६ स्थानीय तहका लागि ८ मोवाइल टोली घुम्ती खोप सेवाका लागि परिचालन गरिएको छ । अस्ट्रेलियाली सरकारको आर्थिक तथा आड्रा नेपालको प्राविधिक सहयोगमा बागमती सेवा समाजको सहजीकरणमा घुम्ती खोप सेवा सुरु गरिएको हो ।
खोपमा पहुच बढाउन महिला स्वास्थ्य सम्बन्धी सेवा सुदृढीकरणकालागि परियोजना सञ्चालन गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले बताए ।
कोभिड बिरुद्धको खोप लगाउनबाट वञ्चित १ लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने घुम्ती खोप सेवा सुरु गरिएको वागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिए । खोप केन्द्रमा जान नसकेकाहरुलाई पहिलो चरणमा ४ जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको उनले बताए ।
घुम्ती सेवाका स्वास्थ्यकर्मीलाई बिदाइ गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबाट वञ्चित भएको बता्उदै अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरुद्धको खोप सुदृढिकरणका लागि जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आग्रह गरे ।
स्वास्थ्य संस्था सम्म पहुच न हुने नागरिकलाई घरमै खोप लगाउने कार्यक्रमले प्रदेशका सबै नागरिकले खोप लगाउने अवसर मिल्ने उनले भने । खोपको पहुच बढाउन संचालित यो परियोजनाको कामलाई मुख्यमन्त्री राउतले प्रशंसा गरे । परियोजना अन्तर्गत गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा विरामीहरुलाई घर–घरमै गएर खोप लगाइदैछ । बालबालिकालाई पनि अगामी दिनमा यस्तै घुम्ती सेवा संचालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताए । घुम्ती खोप सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको स्वागत कार्यक्रममा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री वीरेन्द्र सिंह, सामाजिक विकास मन्त्री नवल किशोर साह लगायतको सहभागीता रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech