जनकपुरधाम । धनुषा जिल्लाको १६ पालिकाले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट शुक्रबार सार्वजनिक गरेको छ । नगराइन र विदेह नगरपालिकाले सभा गर्न सकेको छैन् । आन्तरिक विवादका कारण तोकिएको समयमा नगराइन र विदेह नगरपालिकाको बजेट आउन नसकेको हो । जनकपुरधाम उपमहानरपालिकासहित १६ पालिकाले शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।

केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

शुक्रबार उपमहानगरले आर्थिक वर्ष २०७९÷०८० को लागि कुल १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्व ८० करोडको बजेट ल्याएको छ । शुक्रबार आठौ नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बजेट प्रस्तुत गरेका हुन् ।

आगामी बजेटमा चालुतर्फ १ अर्ब ७ करोड ४१ लाख २७ हजार अर्थात ५९.४५ प्रतिशत र पुँजीगततर्फ ७३ करोड ३० लाख १८ हजार अर्थात ४०.६ प्रतिशत रकम विनियोजन गरेको छ ।

आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय, बाह्य स्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार, संघ सरकारको राजश्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार र प्रदेश सरकारको राजश्व बाँडफाँड अन्तर्गत १ करोड ७१ लाख ६८ हजार ८ सय बजेट खर्च व्यहोर्नका लागि रकम उपर गरिने उपप्रमुख साहले बताए ।

त्यस्तै, उपमहानगरले विभिन्न शीर्षकमा खर्च गर्नका लागि विभिन्न समितिहरु बनाएर बजेट विनियोजन गरेको छ । आर्थिक विकास समितिका लागि ४ करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख, पूर्वाधार विकास समितिका लागि ६४ करोड ६५ लाख १४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन विकास समितिका लागि ५ करोड र सुशासन तथा संस्थागत विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

जनकपुरधाम उपमहानगरले चालू आर्थिक वर्षका लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

शहीदनगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५४ करोड ४० लाख २९ हजारको बजेट ल्याएको छ । नगर प्रमुख दिनेश यादवले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका थिए ।

गणेशमान चारनाथ नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिकाले पनि शुक्रबार नै सभा सम्पन्न गरेको छ ।

सबैला नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७३ करोड ५८ लाख ९३ हजारको बजेट सार्वजनिक गरेको छ । जनकनन्दनी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४७ करोड २९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । मिथिला बिहारी र हंसपुर नगरपालिकाले पनि तोकिएको समयमा बजेट ल्याएको हो । विवादका कारण चालु आर्थिक वर्षमा बजेट चलाउन नसकेको मिथिला बिहारी नगरपालिकाले पनि शुक्रबार ने नगरसभाको उद्घाटन सत्र सम्पन्न गरेको छ ।

कमला नगरपालिका, मुखियापट्टी मुसरनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, औरही गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बटेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड ७५ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको हो । धनौजी र विदेह नगरपालिकाले बजेट भने सार्वजनिक गर्न सकेको छैन् । धनौजीले गाउँसभाको उद्घाटन सत्र सम्पन्न गरेको छ भने विदेह नगरपालिकाले शुक्रबार साँझसम्म उद्घाटन सत्र समेत गर्न सकेको छैन् ।

 

सम्बन्धित खवर