वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नदीजन्य वस्तु उत्खननमा अनियमितता गरेको आरोपमा अख्तियारले जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई र ठेकेदारहरू ओमशंकर प्रसाद र मिराकुमारी श्रेष्ठमाथि सवा ५ करोड रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । सेढाईमाथि ठेकेदार ओमशंकर र मिराकुमारीसँगको मिलोमत्तोमा जितपुरसिमरास्थित पसाहा र र बालगंगा खोलाबाट नदीजन्य वस्तु उत्खनन, संकलन तथा बिक्रीवापतको रकम हिनामिना गरेको आरोपमा छ । अख्तियारले उनीहरुविरुद्ध ५ करोड २६ लाख ६ सय ८७ रुपैयाँ बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय मागदावीसहित विशेष अदालतमा शुक्रबार आरोपपत्र दायर गरेको एउटा प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । खोलाहरुबाट नदीजन्य वस्तु उत्खनन गर्दा कायम गरिएको रकम र त्यसवापतको मूल्यअभिवृद्धि कर हिनामिना गरेको आरोपमा सेढाई, ओमशंकर र मिराकुमारीविरुद्ध बिगो, जरिवाना र कैद सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा सेढाईले उपमहानगरपालिकाभित्र पर्ने पसाहा खोलाको नदीजन्य सामग्री उत्खनन जिम्मा ओमशंकर प्रसादको ओम सप्लायर्स दिएका थिए । तर, ओम सप्लायर्सले सम्झौता विपरित उत्खनन, संकलन र बिक्री गरेर राजश्व हिनामिना गरेको थियो । उत्खनन सम्झौता गर्दा दुई किस्ताको हुन आउने रकम ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा सेढाईले सेटिङ गरेर रकम राजश्वमा दाखिला गराएनन् । हालसम्म पनि ठेकेदारले ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ राजश्वमा दाखिला गरेका छैनन् । अख्तियारले त्यही रकमलाई बिगो मानेर सेढाईविरुद्ध बिगो, कैद र जरीवाना मागदाबीसहित मुद्दा दायर गरेको छ ।
अख्तियारले ओम सप्लायर्सका सञ्चालक ओमशंकरविरुद्ध पनि राजश्व दाखिला गर्न बाँकी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र त्यसवापतको मूल्य अभिवृद्धि करमा हुन आउने ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ गरी १ करोड ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरीवाना र कैद सजायको माग गरेको छ । अख्तियारका अनुसार सेढाईले न्यू पाथिभरा सप्लायर्स हेटौंडासँग पनि मिलोमत्तोमा जितपुरको अर्को खोला बालगंगाको उत्खननमा पनि अनियमितता गरेका छन् । बालगंगा खोलाबाट गिटी÷बालुवा÷ढुंगा उत्खननको जिम्मा पाएको न्यू पाथिभरा सप्लायर्सले सेढाईसँगको मिलोमत्तोमा सम्झौता विपरित उत्खनन र बिक्री गरेर राजश्व हिनामिना गरेको आरोप छ । अख्तियारले सोही मुद्दामा सेढाईविरुद्ध १ करोड २० लाख २८ हजार ९० रुपैयाँ बिगो, सोही अनुसार जरीवाना र कैद सजाय मागदाबी लिएर विशेष मुद्दा दायर गरेको छ । बिगो कायम गरिएको राजश्व दाखिला नगरी सेढाई र ठेकेदारको मिलेमतोमा हिनामिना गरिएको अख्तियारले जनाएको छ । राजश्व दाखिला नगरी हिनामिनामा संलग्न न्यू पाथिभरा सप्लायर्सका सञ्चालक मिराकुमारी श्रेष्ठविरुद्ध पनि अख्तियारले राजश्ववापतका १ करोड २० लाख २८ हजार ९० र मूल्य अभिवृद्धिकरवापतको ४६ लाख ४४ हजार ५ सय १० गरी कूल १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ बिगो, सोही अनुसार जरीवाना र कैद सजायको मागसहित विशेषमा मुद्दा दायर भएको हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech