काठमाण्डौ । सरकारले
पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए ।

उनका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटेको छ । जसअनुसार हाल पेट्रोलमा १९९ रहेकामा रु २० घटेर १७९ कायम गरिएको छ । त्यस्तै डिजेलमा १९२ बाट रु २९ घटाएर १६३ कायम गरिएको छ । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । सुझावका आधारमा बैठकले निर्णय गरेको हो”, मन्त्री बडूले भने ।

उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुनेगरी मूल्य घटाइएको बताए । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उनले उल्लेख गरे । यसले समग्र समाधान त हैन तर, तत्काल जनताले भोगेको समस्यालाई केही राहत दिन्छ भन्ने सरकार र मन्त्रालयको विश्वास छ, उनले भने ।

सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्ने भएको छ ।

उद्योगमन्त्री बडूले सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाई मूल्य नियन्त्रण गरिने विश्वास व्यक्त गरे ।

बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुनेगरी काम गर्न उनले आग्रह गरे । मन्त्री बडूले उपभोग्य वस्तुमाथि कानूनविपरीत मूल्यवृद्धि गरेको पाइएमा कारवाहीको दायरामा ल्याइने भन्दै यस कार्यमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभावस्वरुप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील छ । सोही विषयलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनतालाई असर पुरयाएकोले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए ।

उक्त बैठकले वर्तमान अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुझाव दिएअनुरुप मूल्य समायोजन गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिनुभएको निर्देशनबमोजिम मूल्य घटाइएको मन्त्री बडूले बताए ।

सरकारी कार्यालयमा विद्युतीय सवारी

पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्हो र विद्युतीय सवारीसाधनमा प्रोत्साहन गरिने मन्त्री बडूले जानकारी दिए । बजेटमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको सिफारिसअनुरुप कार्यान्वयन गरिनेछ ।

सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, पुरानालाई विद्युतीयमा रुपान्तरण गर्ने तथा ठूला सवारीसाधनलाई विद्युतीय रुपान्तरण गर्ने नीतिगत निर्णय गरिनेछ । पेट्रोलियम पदार्थको खपत कम गर्न अन्य मुलुकको असल अभ्यासलाई पनि अध्ययन गरेर विज्ञसँगको परामर्शपछि निर्णय लिने र हालको निगमको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पनि कार्यदलले सुझाव दिएपछि कार्यान्वयनमा लगिने मन्त्री बडूले जानकारी दिए ।

सम्बन्धित खवर