मो. इन्तेखाब आलम

जनकपुरधाम । नेपालका इस्लाम धर्मावलम्बीहरु हजका लागि साउदी अरबको पवित्र स्थल मक्का मदिना प्रस्थान गरेका छन् । इस्लामिक क्यालेण्डर अनुसार जिकायदा (यसपाली नेपाली क्यालेण्डर अनुसार असार महिना) मा हाजीहरु साउदी अरबका मक्का मदिनाका लागी प्रस्थान गरेका छन । मरकजी दारुल केरातका मदर्सा (स्कूल ) लोहनाका मौलाना (शिक्षक) मो. नसीमका अनुसार विगतमा हजका लागी मक्का मदिना जाने नेपालीले समस्या भोग्नु परेको थियो । नेपाली हाजीहरु त्याहाँ ठूलो समस्याको सामना गर्नुपरेको अनुभव उनले सुनाए । भोजन, आवास, खानेपानी लगायतका आधारभूत समस्याको सामना गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

नेपाल हज समितिका अनुसार ५३७ जना नेपाली हाज यात्री साउदीे अरबका पवित्र स्थल मक्का मदिना प्रस्थान गरेका छन् । यस वर्ष ५५५ हज प्रतिनिधिमण्डल साउदी अरबको लागि प्रस्थान गरेको नेपाल हज समितिले जनाएको छ ।

देशभरबाट हज गर्नको लागि प्रस्थान गरेका नेपाली मुस्लिमहरुले ४ लाख ६३ हजार रुपैयाँ भुक्तानी गरेर हजका लागि पठाएको सुनसरीका हाजीका आफन्त जफर जमालीले बताए । गत वर्षको तुलनामा यसपाली नेपाली हज यात्रीले एक लाख ८० हजार बढी रकम बुझाउनुपरेको नेपाल हज समितिले जनाएको छ ।

साउदी सरकारले हज यात्रीको शूल्क बृद्धि गर्दा यहाँ पनि रकम बढेको नेपाल हज समितिका कर्मचारी पुरुषोत्तम पौडेलले बताए ।

नेपाल सरकारले यसपाली हज यात्रीलाई डायरी, कलम, सहयोग गरेर विदाई गरेको कर्मचारी पौडेलले बताए । अघिल्लो समय दिएको विवादित अभिव्यक्तिका कारण नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँप्रति तराइका मुस्लिम रुष्ट रहेको बताइन्छ ।

नेपालका मुस्लिम समुदायले हज यात्रीको महशुल शुल्क बढाएको प्रति नेपाल सरकारको आलोचना गर्दै आएका छन् । नेपाल हज समितिले यसपाली नेपाली हाजीलाई थप आर्थिक भार दिएको पूर्व हज समितिका सदस्य तथा नेकपा एमाले धनुषाका वरिष्ठ नेता मो.कैसले आरोप लगाए । उनले नेपाली मुस्लिमको लागि सरकारको नियत र नीति दुबै शंकास्पद रहेको बताए ।

सम्बन्धित खवर