वीरगञ्ज । छिमेकी राष्ट्र भारतका सांसद अखिलेश कुमार सिंहले भारतको १७ सय किलोमिटर लामो नेपालसंगको खुला सीमाना दुई देशविचको अटूट सम्बन्धको प्रमाण रहेको बताएका छन् ।

भारत विहारको ऐतिहासिक नगर वैशालीमा आयोजित ‘भारत नेपाल समिट २०२२’ लाई उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका सिंहले नेपालमा भारत विरुद्ध बाहिरी शक्तिले खेल्न खोजे त्यहाँका जनताले उसलाई निरुत्साहित गर्नेे बताए । नेपाल–भारतको सीमामा कहिलेकाँही असहज परिस्थिति आउने गरेकोमा त्यसलाई बिवेकपुर्ण ढँगले दुई देशका सरकारले समाधान गर्नुपर्ने पर्नेमा उनले जोड दिए ।

उनले वैश्विक परिवेशमा पनि नेपाल–भारतको सम्बन्धलाई आजको समयमा बलियो वनाई राख्न दुई देशको सामरिक तथा रणनीतिक आवश्यकता रहेको बताए ।

मिडिया फोर बोर्डर हार्मोनी संस्थाले आयोजन गरेको कार्यक्रममा ‘बद्लिदो परिस्थितीमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयमा बोल्दै नेपाल र भारतका सहभागिहरुले बदलिदो परिस्थितिमा सम्बन्ध सुदृढ बनाई राख्न चनाखो हुनमा जोड दिए ।

कार्यक्रममा बोल्दै भारतका अर्का साँसद अजय निषादले नेपाल र भारतको सम्बन्ध बलियो र प्रगाढ बनाईराख्न नागरिक समाजले अहम भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले औपचारिक सम्बन्धहरुकाबीच जनस्तरीय अन्तरक्रिया र संवाद पनि भइरह्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा नेपालका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपाा) नेपालका मधेश प्रदेशका संसदीय दलका नेता जितेन्द्र सोनलले नेपाल लामो संघर्षपछि संघीय लोकतान्त्रिक कायम भएकोमा यसले आफ्नो बिकासको यात्रा हितैशी तथा शुभचिन्तक छिमेकी राष्ट्र भारतसंगको सहकार्यमा अगाडि बढाउन आवश्यक रहेको बताए ।

प्राचीन कालदेखिको यो सम्बन्ध नयाँ र बदलिदो कालखण्डमा पनि अझ प्रगाढ बनाउदै लैजान आवश्यक रहेको उनले बताए । आफु नेपालीहरु भारत आउदा अरु देशमा पुगेकोजस्तो अनुभुति हुदैन र भारतीय नागरिकले पनि नेपालमा त्यस्तै हार्दिकता पाउने गरेको सोनलले बताए । यस्तो विशिष्ट सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तब्य रहेको बताए ।

कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले माता जानकी र भगवान श्रीरामको कालदेखि चलिआएको सम्बन्ध जोगाउन दुई देशका सबै नागरिकको साझा दायित्व रहेको बताए । वैशालीस्थित थाइ मन्दिरका प्रमुख डा. पिसी चन्द्राले दुई देशविचको सम्बन्ध बिश्वमैं विशिष्ठ रहेको र यस विषयमा आयोजित कार्यक्रममा सहभागि हुन पाउनु गर्वको विषय रहेको बताए ।

 

सम्बन्धित खवर