काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।

नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो ।

संसदमा आगामी आर्थिक वर्ष ०७९÷८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्री पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताए । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिदै आफूले गरेका कामबाट निकै सन्तुष्ट भएको बताए । उनले भने, म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

विमानस्थलको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्नेजस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरूका विषयमा मन्त्री आलेले जानकारी दिए । यसैगरी विशिष्ट व्यक्तिहरूको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम लागू गराएको मन्त्री आलेले दाबी गरे ।

कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिदै उनले भने, “मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकेन, ती अधुरा काम अन्य दिनमा हुनेछन् ।” गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते शुक्रबार मन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए ।

यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदा लिएकी छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेको थियो । तर मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन चाहे । प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएपछि उनीहरु हटेनन् ।

तर शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने भन्दै तत्काल सपथ गराउन प्रधानमन्त्रीलाई आग्रह ग¥यो । त्यसको भोलिपल्ट राष्ट्रियसभामा जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालय पनि छाडेकी छन् ।

सम्बन्धित खवर