लहान । सिरहामा आइतबार बिहान ख्याल–ख्यालमै साथीमाथि गोली चलाइएको छ ।
लहान नगरपालिका–२२ बेलीजटियाही टोलमा गोली चल्दाँ एक जना घाईते भएका छन् । घटनामा संग्लन रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ८ः४५ बजे रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेका थिए ।
ख्याल–ख्यालमै सुशान्तले गोली चलाउँदा दिलिपको पेटमा गोली लागेको प्रहरीले जनाएको छ ।
गोली चलेको धेरै बेरपछि प्रहरीलाई स्थानीयले खबर गरेको थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानको प्रमुख डिएसपी कुमारप्रसाद मैनाली घटनास्थल पुगेर छानबिन थालेका छन् ।
प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ । घाइते दिलिपलाई उपचारको लागि धरान पठाएको छ । प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्यागाजिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गोलि प्रहार गर्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानेको बताइएको छ । गोली लागेर दिलिप गंभिर घाइते भएका छन् ।
दिलिपलाई प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर गरिएको सिरहा प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech