जनकपुरधाम । मंगलबार बिहानैदेखिको अविरल वर्षाका कारण मधेश प्रदेशको राजधानी जनकपुरधाममा दर्जनौ घर डुबानमा परेको छ । वडा नं. १, २, ३, १० का दर्जनौ घर डुबानमा परेको हो । मंगलबार बिहानदेखि सुरु भएको वर्षा दिउँसो मात्रै बन्द भएको छ । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर पनि डुवानमा परेको छ ।

वर्षाको पानी निकासको व्यवस्था नहुँदा उपमेयर साहको घर डुबानमा परेको हो । उपमहानगरपालिका वडा नम्बर १० स्थित साहको घरमा पानी पसेको हो ।

‘यो पहिलादेखिकै समस्या हो’ उपमेयर साहले भने, ‘पानीको निकासका लागि एउटा चेम्बर बनाउनुपर्ने आवश्यकता छ । त्यो निर्माण नभएसम्म घर डुबान भइरहनेछ ।’

साहका अनुसार उनको घर वरपरका अरु २० घरमा पनि पानी पसेको छ । उनले चेम्बर निर्माण गरेर पानीको निकास दिनका लागि आफूले काम गर्ने बताए ।

यता, सप्तरी र सुनसरीको सीमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । सोमबाररातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।

कोसी ब्यारेजका अनुसार मंगलबार सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ । यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित खवर