जनकपुरधाम । धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ बुधबार १९औँ धान दिवस मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धनुषाले हंसपुर नगरपालिका–४ सुगामधुकरहीमा धान दिवस मनाएको हो ।
धान रोपाई गरी यो दिवस मनाइएको हो । प्रदेशसभा सदस्य रामअशिष यादवको प्रमुख आतिथ्यमा सुगामधुकरहीमा धान रोपाई कार्यक्रम गरिएको थियो ।
हंसपुर नगरपालिकाका मेयर प्रदिप यादव, वडा नं. ४ का वडाध्यक्ष लालबाबु यादव, परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख युगल किशोर तिवारी, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह लगायत किसान अगुवाहरुको उपस्थिति रहेको थियो ।
धानको बहुआयामिक महत्वलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६१÷६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भ पारेर नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भएअनुसार यस दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो । सरकारको २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमासमेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रुपले धान दिवस मनाउँदै आएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानबालीको लागि पकेट, ब्लक, जोन तथा सुपर जोन जस्ता विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गरी त्यस्ता उत्पादन क्षेत्रहरुमा धान बालीको व्यवसायीकरण, यान्त्रिकीकरण तथा औद्योगिकीकरणलाई प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिएको परियोजना प्रमुख तिवारीले बताए ।
चालु आर्थिक वर्षमा सर्शत वित्तीय हस्तान्तरणमा धान उत्पादनको प्रचुर सम्भावना बोकेका प्रमख क्षेत्रहरु र नेपाल सरकारबाट निर्मित साना, मझौला तथा ठूला सिँचाइ आयोजनाहरुको कमाण्ड क्षेत्रभित्र धान उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech