जनकपुरधाम । किसानको लागि मल आपूर्ती गर्न नसकेको मधेश प्रदेशसहित देशभर बुधबार राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि क्षेत्रमा काम गर्ने कार्यालयहरुले लाखौ खर्चेर यो दिवस मनाएको हो । मधेश प्रदेश सरकारका भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि बुधबार धान दिवस मनाएको हो । राष्ट्रिय धानबाली अनुसन्धान परिषद् हर्दिनाथको समन्वयमा मन्त्रालयले लक्ष्मीनियाँ गाँउपालिकामा धान दिवस मनाएको हो ।

कृषि मन्त्री विजय कुमार यादवको प्रमुख आतिथ्यमा तामझामसहित धान रोपाई गरेर यो दिवस मनाएको हो । कार्यक्रममा सहभागीको लागि आयोजकले दही, च्युरा, मिठाई, फलफुल लगायतको खाताको समेत भरपर्दो व्यवस्थापन गरेको थियो । मल अभावका कारण किसानले धान रोप्न नपाइरहेको बेला सरकारी निकायहरुले तामझामका साथ धान दिवस मनाएको हो । धान उत्पादन गर्ने किसान भने धान रोपाईको लागि मल नहुँदा चिन्तित छन् ।

यो दिवसको अवसरमा पछिल्ला बर्षहरुमा औपचारिक कार्यक्रमहरु ह्वातै बढेको छ । धनुषामा मात्रै बुधबार आधा दर्जन कार्यालयले छुटाछुट्टै कार्यक्रम गरेर यो दिवस मनाएको हो । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय धानबाली अनुसन्धान परिषद्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जिल्ला कृषि ज्ञान केन्द्र, बेलाचापीस्थित कृषि फार्म यसका अतिरिक्त गैर सरकारी संघसंस्थाले पनि यो दिनलाई दिवसको रुपमा मनाएर किसानको घाउमा मलमको साटो नुन हाल्ने प्रयास गरेका छन् । मल अभावमा धान रोपाइ नहुँदा किसान चिन्तित छन् । असारको दोश्रो सातासम्म धनुषामा मात्र ११ प्रतिशत धान रोपाई हुन सकेको तथ्यांकले देखाएको छ । किसानको पीडालाई हल्कामा लिदै सरकारले तामझाम गरेर धान दिवस मनाएको हो ।

कार्यक्रममा संचारमाध्यमका दर्जनौँ पत्रकार पुगेका थिए, प्रमुख अतिथिले भन्ने देशलाई धानमा आत्मनिर्भर बनाउने र समयमा किसानलाई मल बाड्ने मन्तव्यमा छुटाउन मिलेन । असार १५ को धान दिवसको मुख्य आकर्षण बर्षेनी यही रितबाट हुने गरेको छ ।

‘असार १५’ एक औपचारिकतामा सीमित

भन्न त नेपाललाई कृषि प्रधान देश भनिँदै आइएको छ । कागज र नीति निर्माणका लेखाईहरुमा यसो भनिए पनि व्यावहारमा नेपाल कृषि प्रधान मुलुक हाल होइन् । आफ्नै देशभित्र खपत हुने कुनै पनि कृषि उपजमा देश आत्मनिर्भर छैन् । विशेषगरी आमनेपालीले आफ्नो भोजनमा समावेश गर्ने ‘भात’ बनाउन प्रयोग हुने चामल आयातको तथ्यांकले यो पुष्टि गर्दछ ।

धान दिवसलाई कुनै औपचारिक कार्यक्रम भन्दा अर्काे भन्न मिल्ने अवस्था छैन् । एउटा औपचारिक कार्यक्रम गर्ने, दुई चार जना भीआइपीहरु जम्मा हुने, गलामा धानको बीऊको माला लगाउने, गमलामा धान रोप्ने, भाषणबाजी गर्ने र हिलो छ्यापाछ्याप गर्ने बाहेक कुनै किसानीका ठोस कुरा भएको देखिँदैन् ।

किसानका अनगिन्ती दुःख

जुन पेशाले अन्य हरेक पेशाका मानिसहरुलाई जीवित राख्छन् त्यो पेशा हो किसानी । तर किसान हुनु आज नेपालको सन्दर्भमा पिडा नै पिडाको भारी बोकेर हिड्ने पेशाका रुपमा दरिन बाध्य भएको छ । उत्पादन लागत भन्दा कम मूल्यमा उत्पादित सामग्री बेच्नु पर्ने, किसानले पाउने मूल्य भन्दा विचौलियाले बढि नाफा कमाउने, उत्पादित सामग्री बिक्रि हुने कुनै टुंगो नहुनु, समयमा प्राविधिक सरसहयोग नपाउनु आदी जस्ता आमकिसानका पीडा हुन् ।

अझैसम्म पनि देशका मुख्य–मुख्य तहमा पुग्ने अधिकांशको पारीवारिक पृष्ठभूमि किसानी नै रहेको देखिन्छ ।

हालको समाजमा कोही पनि अभिभावकले आफ्ना छोराछोरीलाई किसान बन्ने सपना कहिल्यै देखाउँदैनन् । कोही चाहँदैन कि आफ्ना छोराछोरीले भविष्यमा किसान बन्छु भनोस् ।

मल अभाव कायमै

गएको भदौ महिनादेखि देशमा मलको अभाव हुन नदिने भन्दै सरकारले भाषणवाजी गर्दै आएको छ । तर, असारको दोश्रो सातासम्म मलको आपूर्ती हुन सकेको छैन् । मल आपूर्ती नहुँदा किसान बिना मलकै धान रोपाई गर्न बाध्य छन् ।

नेपालमा करिव २५–३० बर्षअघिसम्म यसरी रासायनिक मल प्रयोग हुने अवस्था थिएन । गोवर मल र प्राङ्गारिक मल प्रयोग गरि कृषि कार्य हुन्थे । जसले गर्दा उत्पादित धान र त्यसबाट बनाइने चामल सतप्रतिशत अर्गानिक र स्वस्थ थिए । तर पछिल्ला दशकहरुमा मल भनेकै रसायनीक मल मात्र हो भन्ने अवस्था सिर्जना हुन पुगेको छ ।

सम्बन्धित खवर