काठमाण्डौ । भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स)मा कार्यरत डा. माधवप्रसाद यादवले अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएका छन् ।

मधेश प्रदेशको वीरगन्ज घर भएका डा. यादव एम्सको न्यूक्लियर मेडिसिन विभागमा कार्यरत छन् । डा. यादव उपचार तथा रिसर्च क्षेत्रमा एम्स भित्र ‘साइन्टिस्ट–सी’ पदमा छन् । रेडियो न्युक्लियाइड एक्टिनियम–२२५ प्रविधिबाट क्यान्सरको उपचारमा गहिरो अनुसन्धान गरेको र त्यसमा सफलता प्राप्त गरेकाले उनलाई पुरस्कृत गरिएको हो ।

जर्मनीमा आयोजित एक समारोहमा दी इन्टरनेसनल सेन्टर्स फर प्रेसिजन अनकोलाजी (आईसीपीओ) फाउन्डेसनले डा. यादवलाई ५ हजार यूरो नगद र प्रमणपत्रले सम्मानित गरेको हो । उक्त पुरस्कारका लागि ४० देशका चिकित्सक र अनुसन्धकर्ताहरुले दावी गरेका थिए ।

तर, छनौट कमिटीले डा. यादवको चयन गरेको हो । सन् १९९३ मा मौरिटस डब्लू ग्रीलिंग्सले रेडियो न्युक्लियाइडबाट क्यान्सरको उपचार गर्न सकिने पत्ता लगाएका थिए । तर, त्यसको प्रयोग धेरैपछि मात्रै प्रारम्भ भयो । डा. यादवले उक्त प्रविधिमाथि सन् २०१६ देखि काम थालेका थिए । त्यसयता त्यस प्रविधिबाट उनले एम्समा ५ सय बढी बिरामीको सफल उपचार गरिसेका छन् ।

‘रेडियो न्युक्लियाइड एक्टिनियम–२२५’ प्रविधिले लिभर र प्रोस्टेड क्यान्सरको उपचारमा धेरे सफलता प्राप्त भएको डा. यादवले बताए । ‘सबै तिरबाट उपचार गराएर थाकेर आएका हरुको यस प्रविधिबाट सफल उपचार गरिएको छ,’ उनले भने, ‘करीब १० वर्ष देखि यसको अनुसन्धानमा संलग्न थिए । उपचारले सफलता प्राप्त गर्दै गएपछि यसको चर्चा भएको हो ।’

उनले काम गर्दै जाँदा पाएको अन्तर्राष्ट्रिय पुरस्कारले हौसला बढाएको बताए । उनले विभागका प्रमुख प्रो. सीएस बलको नेतृत्वमा आफूले यस सन्दर्भमा काम गरेको उल्लेख गरे ।

सम्बन्धित खवर