जनकपुरधाम । धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ मधेश प्रदेश सरकारले बुधबार १९औं राष्ट्रिय धान दिवस मनाएको छ ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश र राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले संयुक्त रुपमा १९औँ धान दिवस मनाएको हो ।
हर्दिनाथमा आयोजित कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले धानको उत्पादन बढाउन जैविक विविधताको संवद्र्धनमा जोड दिए । बाली लगाउने समयमा रासायनिक मलको अभाव, समयमा नै पानी नपर्नु, उन्नत मल, बिऊ र सिँचाइको उचित व्यवस्थापन हुन नसक्नु जस्ता कारणले वर्सेनि धान उत्पादनमा कमी आउँदा आयातित चामलमा निर्भर रहनुपरेको उनले बताए । संघीय सरकारले मलको आपूर्ती समयमै गरेर किसानको समस्यालाई समाधान गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका धान संयोजक डा. रामवरण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै धानको उत्पादन बढाउनमा सरकारले चासो लिनुपर्ने धारणा राखे । समयमा मलको समस्या समाधान गरेर उत्पादन बढाउनुपर्ने तर्क उनीहरुको थियो ।
सो अवसरमा मन्त्री यादवको नेतृत्वमा हर्दिनाथमा धान रोपाई समेत गरिएको थियो । धान रोप्ने क्रममा एक अर्का बीच हिलो छ्यापेर धान दिवस मनाइएको थियो ।
धानको बहुआयामिक महत्वलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६१÷६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भ पारेर नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भएअनुसार यस दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो । सरकारको २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमासमेत धान दिवस मनाउँदै आएका छन् ।
धान उत्पादनको वृद्धि दर कम हुनु, खेतीयोग्य जमिन खण्डीकरण तथा घडेरीको रूपमा बिक्री वितरण, श्रम शक्तिको अभाव, सिँचाइ, भण्डारण तथा बजार पूर्वाधारको अपर्याप्तता जस्ता प्रमुख कारणले पनि धान खेतीप्रतिको आकर्षण घट्दै गएको छ ।
धान नेपालीका लागि खाद्यान्न मात्र नभएर यसको महत्व धर्म र नेपाली संस्कृतिसँग पनि जोडिएको छ । जन्मदेखि मृत्युसम्मका कर्ममा धानको प्रयोग अपरिहार्य हुन्छ भने वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत यसको वर्चस्व रहन्छ । नेपालको हिमाल, पहाड र तराईमा चामलको उत्तिकै महत्व रहेको छ । नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, हिउँदे धानको रूपमा धानखेती हुने गर्दछ ।
नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७.७ प्रतिशत जमिनमा धान खेती गरिन्छ । क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करिब ४५ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५० प्रतिशत भन्दा बढी धानको हिस्सा रहेको छ ।
मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत अंश कृषिको रहेकामा धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चित गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
धान विश्वको मकैपछिको दोस्रो महत्वपूर्ण खाद्यान्न बाली हो । यो विश्वको करिब ३.५ अरब जनसङ्ख्याको लागि आधारभूत खाद्यवस्तु एवं शरीरलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत भएको कृषि वैज्ञानिकको भनाइ छ । विश्वमा करिब १६ करोड ४१ लाख ९० हजार हेक्टरमा खेती भई ७५ करोड ५४ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक छ । कूल उत्पादनमध्ये ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकमा हुने गरेको छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, बङ्गलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरू हुन् भने नेपाल १६औँ स्थानमा पर्दछ ।

पछिल्लो समयमा विश्व भू–राजनीतिमा देखिएको असहज परिस्थितिका कारण विश्वव्यापी रूपमा खाद्य सङ्कटको अवस्था गम्भीर हुँदै जाने र यसले अति कम विकसित राष्ट्रलाई नराम्ररी प्रभाव पार्ने भनी विश्व जगत नै त्रसित अवस्थामा रहेको छ । खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोण र हाल खाद्य वस्तुको आयातको तथ्याङ्कबाट धान चामलको उत्पादत र उत्पाकत्व वृद्धि नै उल्लेखित चुनौतीको सामना गर्ने उपयुक्त उपाय हुनसक्ने देखिन्छ ।

सम्बन्धित खवर