जनकपुरधाम । मधेश प्रदेशका किसानहरुले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बिहीबार तालाबन्दी गरेर धर्ना बसेका छन् ।
शीतभण्डारको भुक्तानी माग गर्दै जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादवको अगुवाईमा किसानहरुले बिहीबार बिहानैदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मुलगेटमा धर्ना बसेका छन् । बक्यौता रकम भुक्तानीमा प्रदेश सरकारले चासो नलिएको आरोप उपाध्यक्ष यादवले लगाए । विगतको भुक्तानीको माग गर्दै धर्ना बस्न बाध्य भएको उनले सुनाए । तीन वर्षदेखि लगातार ताकेता गरेपनि सरकारका मन्त्रीले अटेर गरेपछि आपूmहरु धर्ना बस्न बाध्य भएको उनले बताए ।
२०७६ जेठ २९ गते शीतभण्डार(कोल्ड स्टोर) निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार कृषक समूहले मुख्यमन्त्री लालबाबु राउतको हातबाट शीतभण्डारको शिलान्यास गराए । र तत्कालै निर्माण कार्य अगाडि बढाए । तर, अहिलेसम्म रकम भुक्तानी हुन नसकेको पीडा उनले पोखे । उधारोमा निर्माण सामग्री उपलब्ध गराएका व्यापारीले ताकेता गरेर हैरान पारेको यादवले बताए ।
अदालतको आदेशलाई समेत अटेर गरेर प्रदेश सरकारले आपूmहरुलाई समस्यामा पारेको उपाध्यक्ष यादवले भने ।
धर्ना कार्यक्रममा धनुषा र सर्लाहीका किसानहरू समेत सहभागी भएका छन् ।
आफूहरूले राखेको माग पुरा नभएको खण्डमा कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घनश्याम यादवले बताए । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानले मन्त्रालयको लेखा तथा खाद्य शाखामा तालाबन्दी समेत गरेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिका वडा नंं ३ मा निर्माणाधीन शीतभण्डारमा जनहित कृषक समूहले करिब चार करोड लगानी गरिसकेपनि तीन वर्ष हुँदा पनि भुक्तानी नभएपछि धर्ना बस्नुपरेको घनश्याम यादवले बताए ।
सप्तरी जिल्लामा पनि शीतभण्डार हुँदा १ करोड भुक्तानी भइसकेको पनि यादवले दावी गरे । पटक पटक भुक्तानीका लागि निवेदन दिंदा पनि आलटाल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिने परेको यादवले बताए । तीन वर्षसम्म मन्त्रालयले भुक्तानि नदिंदा अप्ठ्यारो भएको उनको भनाइ छ ।
सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको शीतभण्डारको निर्माणमा अढाई करोड खर्च भएपनि मन्त्रालयले भुक्तानी नगरेको संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद महतोले गुनासो गरे । जसपाका केन्द्रीय सदस्य रामगोविन्द यादव, बेचन मुखिया, मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश यादव, प्रदेश सदस्य बजरंग यादव, जिल्ला अध्यक्ष पशुपति यादव, घनश्याम यादव, नगर अध्यक्ष विष्णुदेव साह, रामपुकार यादव लगायतले समेत धर्नामा एक्यबद्धता जनाएका छन् । उनीहरुले बिहान ११ बजेदेखि मन्त्रालयको मुलगेटमा धर्ना बसेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech