सर्लाही । सर्लाहीको बलरामा बागमती र मनुसमारा खोलामा बाढी आएपछि फसेका ८१ जनाको सकुशल उद्धार गरिएको छ ।
धान रोपाइँ गर्न रौतहटको राजदेवी नगरपालिका–४ बाट सर्लाहीको बलरास्थित खेतमा काम गरिरहेका ८१ जना मजदूर बागमती र मनुसमारा दुवै खोलामा बाढी आएपछि बिचमा फसेका थिए । उनीहरुलाई तत्कालै ईलाका प्रहरी कार्यालय गडहीया र प्रहरी चौकी छन्कीटोलाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी र डुङ्गाको सहयोगमा सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका ८१ जनालाई बलरा नगरपालिका–१, हथियौलस्थित प्राथमिक विद्यालयमा राखेर खोलामा बाढी कम भएपछि घरतर्फ पठाइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलामा पुल नहुँदा स्थानीयवासीलाई बर्षायाममा खोला वारपार गर्न समस्या हुँदै आएको छ ।
सर्लाहीका स्थानीयको रौतहटतर्फ र रौतहटका स्थानीयको सर्लाहीतर्फ जग्गा जमिन रहेको छ । अहिले बर्खायाममा स्थानीयहरु धान रोपाइँ गर्न काठको डुङ्गामा चढेर खोला वारपार गर्ने गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech