लालबन्दी । सर्लाहीमा सर्पदंशका बिरामी ह्वात्तै बढेका छन् । प्रादेशिक अस्पताल मलङ्गवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको हो । मलङ्गवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठ÷नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन् ।
प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले पानी पर्न सुरु भएपछि सर्पदंशका बिरामी बढ्न थालेका बताए । मलंगवा अस्पतालममा असार लागेयता १२० जना सर्पदंशका बिरामीको उपचार भइसकेको अस्पतालकी नर्स संगिता श्रेष्ठले जानकारी दिईन् ।
पानी पर्न रोकिएर घाम लाग्न थालेपछि विषालु सर्प अत्यधिक देखा पर्ने गरेका छन् । नवलपुर सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले करेत, गोमन, हरियोलगायत विषालु सर्पले टोकेर उपचार गर्न आउने बिरामी दिनहुँ बढिरहेका बताए । पौडेलका अनुसार असार महिनामा मात्रै नवलपुर सर्पदंश उपचार केन्द्रमा ५३ जना सर्पदंशका बिरामीको उपचार भइसकेको छ ।
सर्पले डस्ने बित्तिकै ल्याइएका बिरामीलाई एन्टीस्नेक भेनम चलाएर उपचार गर्दै आइरहेको भएपनि गम्भीर अवस्थामा ल्याइएका बिरामीको उपचारका लागि भने समस्या भइरहेको पौडेलले बताएका छन् । नवलपुर सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटर भएपनि चलाउन जान्ने जनशक्ति नहुँदा त्यसै थन्काएर राख्नुपरेको छ ।
त्यस्तै, मलङ्गवास्थित प्रादेशिक अस्पतालमा रहेको आइसियू र भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामा रहेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech