निजगढ । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्माणाधिन बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट निजगढ पुगेका हुन् ।

देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न विभागीय मन्त्रीहरूले निजगढ विमनस्थलको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि प्रधानमन्त्रीसहित नेताहरुले निजगढ विमानस्थल बनाएरै छाड्ने घोषणा गरे ।

दुई वटा रनवे सहितको विमानस्थल बनाउछु, प्रधानमन्त्री देउवाले भने–कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छु । तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको बताए । उनले निजगढ विमानस्थल राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि भएको बताउँदै विमानस्थल बनाउने बताए । अध्यक्ष दाहालले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउनुपर्नेमा जोड दिए । सर्वोच्च अदालतको फैसलाले विमानस्थल बनाउने बाटो खोलेको बताउँदै नेपालले प्राकृतिक स्रोत साधनको कम क्षति सहित निजगढमा विमानस्थल बनाउनुपर्ने धारणा राखे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हँुदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सङ्कल्प लिएको उल्लेख गर्दै आफुले पनि त्यसमा सहमति जनाइसकेको बताइन् । कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायत सहभागीता थियो ।

शीर्ष नेताहरूलाई विमानस्थलबारे विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले जानकारी गराएका छन् । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले निर्माण क्षेत्रको निरीक्षण गरेका हुन् ।

ब्ततबअजmभलतक बचभब

 

सम्बन्धित खवर