बागमतीले दुई युवकलाई बगायो
गौर । बागमती नदीले बगाएका दुई युवकको शव फेला परेको छ । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित नुनथर घुम्न आएका भारतीय युवकहरुलाई शनिबार बगाएको थियो । बाढीमा बग्नेमा भारतीय नागरिक ३० वर्षीय मयंक अग्रवाल र सोही उमेरका गोलुकुमार रहेको प्रहरीले बताए ।
शनिवार साँझदेखि बागमती नदीले बगाएर बेपत्ता भएका युवकको आइतवार दिउँसो शव फेला परेको हो ।
भारतको सीतामढी कोटबजारका मयंक र गोलुकुमार दुवैको शव आइतबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ र वृन्दावन नगरपालिका वडा नं. १ को सीमा क्षेत्रस्थित बागमती नदीमै फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले बताए ।
आइतबार दिउँसो स्थानीयले मृतक दुवैको शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
मृतक दुवैको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको छ ।
नुनथर घुम्न आएका भारतीयहरु पौडी खेल्नेक्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech