जनकपुरधाम । शीत भण्डारको बक्यौता रकम असार मसान्त भित्र दिन सहमत भएपछि किसानहरुले आन्दोलन फिर्ता लिएका छन् । शीत भण्डारको बक्यौता भुक्तानी सहित पाँच सुत्रीय माग लिएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा लगाएको ताल्चा आइतबार खोलिएको छ ।

आन्दोलनरत किसान र मन्त्रालयबीच सहमति भएपछि आइतबारदेखि आन्दोलन फिर्ता लिदै ताल्चा खोलेको हो ।

आन्दोलनरत संघसंस्थाका प्रतिनिधि र मन्त्रालयबीच तीन बुँदे सहमति भएको हो ।

अदालतको आदेश अनुसार शीत भण्डार निर्माणको बाँकी रकम यसै आर्थिक वर्षमा भुक्तानी गर्ने र अन्य शित भण्डार निर्माण कार्यलाई अगाडि बढाउने, आन्दोलनकारीको जायज मागलाई मन्त्रालयले सम्बोधन गर्ने तथा किसानको समस्या समाधन गर्न पहल गर्ने सहमति भएको छ । आन्दोलनकारीले आइतबारदेखि नै आन्दोलन फिर्ता लिने सहमति भएको किसानका अगुवा समेत रहेका जनता समाजवादी पार्टी(जसपा) नेपालका मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवले बताए ।

सहमति पत्रमा मन्त्रालयको तर्फबाट सचिव डा. नम्रता सिंह र आन्दोलनकारीको तर्फबाट शेषनारायण यादवले हस्ताक्षर गरेका हुन् ।

गत असार १६ गतेदेखि यादवको अगुवाईमा मन्त्रालयमा तालबन्दी गरेर किसानहरु धर्ना बस्दै आएक थिए ।

सहमति पश्चात आन्लोलनरत पक्षले ताला खोलेको छ भने धर्ना स्थगित गरेको छ ।

मन्त्रालयमा धर्ना दिँदै आएका उनीहरुले अदालतको आदेश कार्यान्वयन गरी कृषक समूह, सहकारी किसानहरुको शित भण्डारको रकम अविलम्ब भुक्तानी गर्नुपर्ने, किसानहरुलाई समयमै पर्याप्त मल खाद्य, बीउविजन उपलब्ध गराउनुपर्ने, प्रदेश सरकार, कृषि मन्त्रालय अन्तर्गतका सञ्चालन हुने अनुदान, सेवा सुविधा र विभिन्न योजनाहरु एकरुपता गरी किसानहरुको हकहित सुनिश्चत हुनुपर्ने, शित भण्डरको बाँकी कार्य अगाडि बढाइ किसानको उत्पादनजन्य सामग्रीहरुको सुरक्षा हुनुपर्ने र किसानहरुको प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने लगायतको माग अगाडि सारेका थिए ।

सम्बन्धित खवर