काठमाण्डौ । सत्ताधार दल जनता समाजवादी पार्टी(जसपा) नेपालले मन्त्री हेरफेर गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । यसअघि सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जसपाले सोमबार बिहान नयाँ मन्त्रीको नाउँ प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नाम सिफारिस थियो ।
पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका हुन् । जसपाले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएको छ ।
यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव थिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए । जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो ।
देउवा नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २१ मन्त्री र ३ राज्यमन्त्री छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech