जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरबाट अपहरित ३ वर्षीय बालकलाई १५ दिनपछि सकुशल उद्धार गरेको छ ।
भारत सीतामढी बैरगिनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका ७ भ्रमरपुराचोक स्थित डेरा गरि बस्ने हरिओम चौधरीको छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले सकुशल उद्धार गरेको हो ।
अपहरणमा संलग्न रहेको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई बालकसहित प्रहरीले मंगलबार दिउँसो फेला पारेको हो ।
खातुन बालकलाई लिएर आफ्नै घरमा लुकेकी अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी महिलालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
गत असार ६ गते बिहान घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले भनेपनि ती महिलाको परिचय खुलेको थिएन् ।
प्रहरीलाई जानकारी हुने बितिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी खातुन उपर अपहरण तथा शरिर बन्धक शिर्षकमा मुद्दा दायर गरि थप अनुसन्धान अगाडी बढाएको एसपी रजौरेले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बच्चा हराएको ठाउँको वरिपरिको विभिन्न पसल तथा घरहरूको सीसीटीभी फुटेजको अनुसन्धान गर्दा हरियो रंगको साडी लगाएकी एक अपरचित महिलाले बच्चा चोरी गरी लगेको देखिएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech