जनकपुरधाम । सबै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री मधेस प्रदेशको राजधानी जनकपुरधाम आईपुगेका छन् ।
मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आएका हुन् ।
उनीहरुले बिहीबार बिहान १० बजेबाट शुरु हुने छलफल कार्यक्रममा अनुभव सटासाट समेत गर्ने मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ । यस प्रकारको समन्वय बैठकबाट जनकपुरधामको पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।
सातवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, मन्त्रालयका सचिवहरू र प्रदेशका मुख्यन्यायाधिवक्ताको सहभागी हुने कार्यक्रम रहेको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधामा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बिहीबार जनकपुरधामस्थित सीताशरण होटलमा सो कार्यक्रम आयोजना हुने मन्त्री साहले बताए । सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ ।
बिहीबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने गृहमन्त्रीहरुको टोलीले दिउँसो जयनगर–कुर्था रेलमा यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बुधबार साँझसम्म जनकपुरधाम पुग्ने सबै प्रदेशका गृहमन्त्रीसहितको टोलीसाँझ जनकपुरधामस्थित गङ्गासागर पोखरीमा नियमित हुँदै आएको महागङ्गा आरतीमा सहभागी भएका छन् ।
यस्तै टोलीले यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उनीहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech