काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर २ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार प्रतिनिधिमण्डलले आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको हो । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी सो विषयमा छिट्टै निर्णय लिइने बताएको जनाइएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा निर्वाचनको मिति सरकारले तोक्ने व्यवस्था छ । विद्युतीय प्रणालीबाट मतदानको व्यवस्था गर्ने भएमा आवश्यक सामग्री आउँदो साउन मसान्तसम्म आयोगलाई उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई आधार मानेर दुवै सभाका सदस्यको समयावधि आगामी मङ्सिर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ । निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष, विश्वसनीयका साथै खर्च न्यूनीकरण गर्न दुवै निर्वाचन एकै दिन सम्पन्न गर्ने तयारी आयोगले गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएको, प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक फरक मिति मान्नुपर्ने जस्तो देखिएको भन्दै आयोगले पहिलो निर्वाचित मितिलाई आधार मानी पदावधि गणना गर्नु व्यवहारिक र निर्विवाद हुने बताएको छ ।

आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वचनको अनुभवका आधारमा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ । ‘एकै चरणमा निर्वाचन गर्दा निर्वाचन निष्पक्ष, स्वतन्त्र, मितव्ययी र विश्वसनीय हुने आयोगको अनुभव रहेको छ’ आयोगका प्रवक्ता पौडेलले भने ।

सम्बन्धित खवर