मलंगवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा धर्ना दिएको छ ।
किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन माग गर्दै सो पार्टीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएको हो । अहिले धान रोपाइँको समयमा रसायनिक मल नपाउँदा किसानले महँगो मूल्य तिरेर गुणरस्तरहीन भारतीय मल खरिद गरेर हाल्न बाध्य भइरहेकाले यसबारेमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले धर्ना दिएको राप्रपा सर्लाहीका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
धर्नामा सहभागी सो पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै दिनानुदिन बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न पनि माग गरेका छन् । राप्रपाले मुलुकमा राष्ट्रिय अखण्डता, स्वाधिनता, सनातन धर्म, अर्थतन्त्र एवं प्रजातन्त्रमाथि गम्भीर चूनौति खडा भएको दावी गरेको छ ।
धर्नामा जिल्लाभरबाट राप्रपाका नेता कार्यकर्ताहरु उपस्थित भएका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech