जनकपुरधाम । जनकपुरधाममा दिनदहाडै व्यवसायीको गोली हानेर हतियारसहित पक्राउ परेका आरोपितलाई जिल्ला अदालत धनुषाले सफलाई दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १ बस्ने पेट्रोल पम्प संचालक मनोज साहको हत्या आरोपी जनकपुरधाम १४ मुजेलिया बस्ने पंकज भनिने दामोदर चौधरीलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको हो ।

न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले दामोदरलाई सफाइ दिएको हो । उक्त मुद्दामा अभियोग दाबी अनुसार प्रमाण नपुगेका कारण अदालतले सफाइ दिइएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले बताए ।

२०७६ कार्तिक ६ गते जनकपुरधाम १४ मुजेलियास्थित आरोपित दामोदरको घरमा उधारो इन्धनको पैसा माग्न जाँदा साहको गोली प्रहार गरी हत्या भएको थियो । घटना लगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली बरामद गरेको थियो ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा गएका थिए । पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहालको स्थिति सृजना हुँदा पंकजले गोली प्रहार गरेका थिए । गोली लागेर मनोजको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै अमित भागेर नजिकै रहेको मुजेलिया प्रहरीचोकी पुगेका थिए ।

हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिएको थियो । निर्माण व्यवसायी पंकजले धनुषाको सपहीस्थित मनोजले संचालन गरेको शिव आयल स्टोरबाट डिजेल पेट्रोल लिएका थिए । इन्धनको बाँकीबक्यौता ८ लाख रुपैयाँको लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियो ।

पंकजले उनको हत्या गरेको निष्कर्षसहित जिल्ला प्रहरी कार्यलय धनुषाले पत्रकारसम्मेलन गरी घटना सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार सो बेला अनुसन्धानका क्रममा पंकजले आफूले हत्या गरेको स्वीकार गरेका थिए ।

चौधरीलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग