जनकपुरधाम । मधेश प्रदेशमा शिक्षाको अवस्था खस्किदै गएकोप्रति सरोकारबालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश सरकार गठन भए पनि शिक्षा क्षेत्रमा उल्लेख्य सुधार हुन नसकेको सरोकारबालाहरुले औंल्याए ।

शैक्षिक गुणस्तर सुधार गर्न तत्काल प्रक्रिया अगाडि बढाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्र सानोठिमीले राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण र कार्य सम्परीक्षणका नतिजा कार्यान्वयनका लागि मधेश प्रदेश स्तरीय प्रवोधिकरण सम्बन्धी जनकपुरधाममा आइतबार आयोजित कार्यक्रममा सरोकारवालाहरूले प्रदेश सरकारले यसमा थप सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

सामुदायिक विद्यालयका शिक्षकको तलब भत्ता र विद्यालयको भौतिक अवस्था पनि उत्कृष्ट भएपनि सिकाई उपलब्धि कमजोर भएकोले सुधारका लागि प्रदेश तथा स्थानीय सरकारले समन्वय गरेर अघि बढनुपर्ने बताए ।

देशका ६२ वटा जिल्लामा केन्द्रले गरेको विद्यार्थी उपलब्धि सम्बन्धी परीक्षणमा कर्णाली भन्दा अगाडि भएपनि अन्य ५ वटा प्रदेश भन्दा मधेश प्रदेश पछाडि रहेको छ ।

कक्षा १० को गणित विषयमा ४५ प्रतिशत विद्यार्थीको सिकाई निराशा जनक भएको तथ्यांकले देखाएको छ ।

यसै गरी विज्ञानमा ५१ प्रतिशत, नेपालीमा ६३ प्रतिशत र अग्रेजीमा ६५ प्रतिशत विद्यार्थीको सिकाइ अवस्था कमजोर भएको शैक्षिक गुणस्तर तथा परीक्षण केन्द्रका महानिर्देशक शिव कुमार सापकोटाले बताए । केन्द्रले कक्षा ३, ५, ८ तथा १० को चार विषयको सिकाई उपलब्धिको विश्वको मापदण्ड अनुसार परीक्षण गर्दै आएको छ ।

देश भरका ५ हजार १ सय ४३ विद्यालयको सिकाइको परीक्षण गर्दा प्रायः जिल्लाको सामुदायिक विद्यालयको सिकाइ उपलब्धि निराशाजनक पाइएको उनले बताए । यसले नेपालको शैक्षिक गुणस्तरमा नै ठूलो प्रश्न चिन्ह खडा गरेको उनले बताए ।

सामाजिक विकासमन्त्री नवल किशोर साहले मधेश प्रदेशको शैक्षिक गुणस्तर खस्केकोमा चिन्ता व्यक्त गर्दै यसमा सुधार गर्नका लागि सबै तहका सरकारको एकीकृत प्रयासको आवश्यक्ता औंल्याए ।

मधेश प्रदेश शिक्षा, ज्ञान तथा अध्यात्मको केन्द्र रहेपनि अहिले पछाडि पर्नु चिन्ताको विषय भएको बताउँदै शिक्षकले शिक्षाको गुणस्तरमा सुधारका लागि विशेष ध्यान दिन आवश्यक भएको बताए ।

मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठले सामाजिक विकास मन्त्रालयले मधेश प्रदेशको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि प्रयासरत्त रहेको बताए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग