जनकपुरधाम । मधेश सरकारले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा झण्डै १५ प्रतिशत कम बजेट खर्चेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५१.९१ प्रतिशत बजेट खर्चेको हो । अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले चालु आर्थिक वर्षमा गत वर्षभन्दा बढी बजेट खर्चिने दावी गरेका थिए ।

तर, गत आर्थिक वर्षको तुलनामा चालु आवमा झण्डै १५ प्रतिशत कम बजेट खर्च भएको छ । गत आवमा ६५.३९ प्रतिशत बजेट खर्च भएको थियो ।

चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेट मध्ये मधेश सरकारले १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७ सय ४९ रुपैयाँ बजेट मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुरधामले जनाएको छ ।

मधेश प्रदेश लेखा नियन्त्रक श्याम गिरीले प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ ६०.८७ प्रतिशत अर्थात् ९ अर्ब ३२ करोड ५६ लख ८२ हजार ६५४ खर्च भएको छ ।

यसैगरी पुँजीगततर्फ ४३.१२ प्रतिशत (८ अर्ब ४३ करोड ७९ लाख ९३ हजार ९५) खर्च भएको उनले बताए ।

सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले ६५.१६ प्रतिशत र सबैभन्दा कम महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले १५.७० प्रतिशत बजेट खर्च गर्न सकेको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लेखा नियन्त्रक गिरीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१.११, अर्थ मन्त्रालयले २६.८६, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ४५.२६, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयले २१.९६, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१.६१, खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले ४० प्रतिशत बजेट खर्च गरेको छ ।

गृह तथा सञ्चार मन्त्रालयले ४७.८१, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले ४६.६३, भौतिक पूर्वाधार विकास मन्त्रालयले ४६.२१, सामाजिक विकास मन्त्रालयले ६५.१६ र स्थानीय तहलाई सशर्त अनुदानतर्फ ९१ प्रतिशत बजेट सरकारले खर्च गरेको जनाएको छ ।

सम्बन्धित खवर