जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट छुटिन लागेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एक्लिदै गएका छन् । भट्टराई पक्षको केन्द्रीय समितिको बैठक मंगलबारदेखि काठमाण्डौको जडिबुटीमा शुरु भएको छ । बैठकमा भट्टराई बाहेक संघीय सांसद पूर्व मन्त्री महेन्द्र राय यादवको मात्रै उपस्थिति रहेको छ । मन्त्रीबाट बाहिरिएका कार्यकारिणी समिति सदस्य समेत रहेका यादवले भट्टराईको साथ दिएका छन् ।

बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका नेता बैठकमा सहभागी भएका छैनन् । बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् । मधेश प्रदेशबाट तत्कालीन नयाँ शक्ति पार्टीका उमेश साह, श्रीचन्द्र मुखिया, देवेन्द्र यादव लगायतका नेताहरु बैठकमा सहभागी भएका छन् ।

भट्टराईले आप्mनो पक्षका केन्द्रीय समितिको बैठक काठमाण्डौमा गरिरहदा उपेन्द्र यादव पक्षको बैठक भने बुधबार(आज) देखि वीरगञ्जमा हुने भएको छ । बैठकमा सहभागी हुन अध्यक्ष यादवसहितका नेताहरु मंगलबार नै वीरगञ्ज पुगिसकेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का ४० प्रतिशतभन्दा बढी सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले दाबी गरेका छन् ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच केही दिन अघि अलग हुने सहमति भएको थियो ।

भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको जनाएको छ ।

बाबुराम र उपेन्द्र समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजन भएको हो । बाबुराम समूहको बैठकमा राजनीतिक लगायतको प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको छ । बैठकमा संघीय परिषद् अध्यक्ष बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

४९९ केन्द्रीय सदस्य रहेको जसपाका अधिकांश केन्द्रीय अध्यक्ष यादव पक्षमा छन् ।

भट्टराई पक्षको बैठकमा १० जना कार्यकारिणी समिति सदस्यको उपस्थिति रहेको केन्द्रीय सदस्य उमेश साहले बताए ।

सम्बन्धित खवर