डा.भट्टराईलाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई पार्टीमै फर्किन आह्वान गरेका छन् ।
वीरगञ्जमा बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै उनले गुटगत समूहको भेला गर्दै हिँडेका डा.भट्टराईलाई भुलचुक सुधार्दै पार्टीमा फर्कन आह्वान गरेका हुन् ।
पार्टी विधि, विधान र अनुशासनले चल्ने भन्दै उनले पार्टी ध्वस्त पार्न खोज्ने, एकतालाई खलल गर्न खोज्ने जो कोही भए पनि कारबाही गरिने स्पष्ट पारे ।
पार्टीको कार्यकारिणी समितिबाट निर्णय गरेर वीरगञ्जमा केन्द्रीय समितिको बैठक बसेको भन्दै उनले जो कसैले बोलाउँदैमा केन्द्रीय समितिको बैठक आधिकारीक नहुने बताए ।
कार्यकर्तालाई भ्रमित पार्ने काम भइरहेको भन्दै उनले कोही पनि भ्रममा नपर्न पनि आग्रह गरे ।
डा.भट्टराईले भ्रमपूर्ण तरिकाले बोलाएको भेलामा केही साथीहरु गएको भन्दै ती साथिहरु फर्कन चाहे पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको बताए । उनले भने, केही साथीहरु भुलचुकमा अलमलमा परेका छन्, कतिपयलाई भ्रममा पारिएको छ, अब भ्रममा नपर्नुुस, तपाईहरु फर्कनुस् हामी स्वागत गर्न तयार छौँ ।”
डा.भट्टराई अहिले लोसपासँग एकता गराइदेउ भन्दै शक्ति केन्द्र धाउँदै हिँडेको आरोप पनि उनले लगाए ।
पार्टी फुटाउन सहज बनाइदिन बालुवाटार धाउने गरेको भन्दै उनले कहिले ४० प्रतिशतमा पार्टी फुटाउने कानुन ल्याउनु पर्यो भन्ने त कहिले २० प्रतिशत बनाइदिनु पर्यो भन्दै धाइरहेको पनि खुलासा गरे ।
नश्लवादी चिन्तनका कारण हिटलरको पतन भएको उल्लेख गर्दै उनले डा.भट्टराई पनि त्यही बाटोमा लागेको जिकिर गरे ।
जसले राष्टिय, जातिय, वर्गीय, क्षेत्रीय, लैगिक उत्पिडनका कुरा उठाउँछ उनलाई क्षेत्रीय दल भनेर सोच्नु घोर नश्लवादी भएको भन्दै यस्तो रवैयाले उसको पतनको बाटो तय गर्ने उनको भनाइ थियो ।
डा.भट्टराईमा पार्टीको व्यानर प्रयोग गरेर गुटगत भेला गर्दै हिँड्नुले उनमा न्यूनतम राजनीतिक संस्कार र संस्कृति समेत नभएको देखाएको यादवको ठहर थियो ।
भारतमा जात, भाषा तथा भूगोललाई आधार बनाएर नामाकरण गरेको बताउँदै अध्यक्ष यादवले नेपालमा जात, भाषा, भुगोललाई वेवास्ता गर्दै नामाकरण गरेर पहिचान मेटाउने काम भएको टिप्पणी गरे ।
संघीयता र लोकतन्त्र विरोधी प्रावधानलाई संशोधन गर्नुपर्ने भएकाले ७ प्रदेशको अवधारणा गलत भएको यादवले बताए । १० प्लस १ प्रदेशको अवधारणाका लागि अहिले पनि प्रयत्नरत रहेको उनले बताए ।
नागरिता समस्याको समाधानका लागि पटक पटक आवाज उठाएको स्मरण गर्दै उनले पूरानो नागरिकता विद्येयकलाई संशोधन गरेर नागरिकताबिहिनहरुलाई नागरिकता दिलाउने दृढता पनि व्यक्त गरेका छन् ।
पार्टीका सहअध्यक्ष अशोक राईले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बेइमानी गरेको आरोप लगाए ।
उनले वीरगञ्जमा बैठक बोलाएकै दिन पारेर काठमाण्डौमा भ्रम छर्न पार्टीकै व्यानर प्रयोग गरी बैठक बोलाएर समूहको भेला राख्नु डा.भट्टराईको बेइमानी भएको बताए ।
नयाँ पार्टी गठनका लागि भनेर भेला बोलाउनु स्वभाविक हुने भए पनि जसपाको व्यानर राखेर भेला बोलाउनु पार्टीको नीति र विधि विपरित भएको उनको भनाई थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रबहादुर श्रेष्ठले आफूले भनेको कुरा नै पार्टीले मान्नु पर्छ भन्ने सोच राख्नु निरंकुशताको पराकाष्टा भएको बताए ।
मन्त्री श्रेष्ठले अहिले आफूहरु पार्टी निर्माणको महान अभियानमा अघि बढिरहेको भन्दै पार्टी फुटाएर अलग्गिन खोज्नेहरुका कारण केही समस्या उत्पन्न भएको स्वीकार गरे ।
मुख्यमन्त्री लालबाबु राउतले पार्टी फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
संविधानसभाबाट २०७२ मा जारी भएको संविधान सबैलाई स्वीकार्य बनाउने उदेश्यसहित अघि बढिरहँदा पार्टी फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले पार्टीले आफ्नो लक्ष्य नछाड्ने बताए ।
पार्टीभित्र देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्षसहित हेडक्वाटर बनाइएको स्मरण गराउँदै उनले त्यहीँबाट समाधान गरेर अघि बढ्नु पर्नेमा गुटगत भेला गर्दै हिँड्नु पार्टी नीति विपरित रहेको बताए । केन्द्रीय समितिको बैठक बिहीबारसम्म चल्ने छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech