जनकपुरधाम । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार रमेशरंजन झालाई प्रदान गरिने भएको छ ।

विद्यापति पुरस्कार कोष जनकपुरधामले २०७८ सालमा विविध विद्यामा पुुरस्कृत हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको हो ।

विद्यापति पुरस्कार कोषले एक विज्ञप्ति जारी गर्दै दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार वरिष्ठ कलाकार, नाटक लेखक वहुविद्यावादी झालाई प्रदान गर्ने बताएको छ ।

अशोक दत्त र निर्मला झालाई नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार, डा. सूर्य प्रसाद यादवलाई नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार र अर्जुन प्रसाद गुप्तालाई नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

झालाई २ लाख, दत्त र झालाई जनही ५० हजार, यादवलाई १ लाख र गुप्तालाई पनि १ लाखसहित प्रमाणपत्र प्रदान गरिने छ ।

केही दिन भित्रै एक समारोहका बीच पुरस्कार प्रदान गरिने अध्यक्ष प्रा.रामचन्द्र यादव र सदस्य सचिव रुद्र कुमार झाद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापित कोषले प्रत्येक वर्ष मैथिली भाषा र साहित्य क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको छ ।

सम्बन्धित खवर