जनकपुरधाम । विगतको सहमति कार्यान्वयनको माग राखेर आन्दोलनमा उत्रिएका १२१ जना चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । जनकपुर बजार बन्द गराउने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा १० जना महिलासहित १ सय २१ जना छन् । सबै जनालाई बिहीबार दिउँसै छाडिएको बस्नेतले बताए । चुरे तथा वन जंगल बचाउ अभियानले बिहीबार जनकपुर बजार बन्दको आह्वान गरेको थियो । जनकपुर बजार बन्द गराउन खोजेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रदेश सरकारले विगतमा गरेको सहमति कार्यान्वयनको माग गरेर अभियानमा लागेका अभियन्ताहरु दोश्रो चरणको आन्दोलन थालेका हुन् । दोश्रो चरणको आन्दोलन अन्तर्गत उनीहरुले बिहीबार जनकपुर बजार बन्दको आह्वान गरेको थियो । तर, जनकपुर बजारमा बन्दको प्रभाव देखिएको छैन् । जनकपुर बजार पूर्ण रुपमा खुला रह्यो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार बजार बन्द गराउदै हिडेका १२१ जना बढीलाई प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहादा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।
बलजफ्ती बजार बन्द गराउदै हिंडने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभियानका संयोजक सुनिलकुमार यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए । यसअघि उनीहरुले बुधबार झारु जुलुश र मंगलबार दिउँसै लालटेन बालेर प्रदर्शन गरेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech