मो.इन्तेखाब आलम
जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले मधेश प्रदेशमा नेपाली कांग्रेस एक्लै संघीय र प्रदेशको चुनाव लड्ने योजना बनाइरहेको बताएका छन् ।
जनकपुरधामस्थित नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा बिहीबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले मधेश प्रदेशमा पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको बताए ।
उर्वरभूमि रहेका तराई मधेशका जिल्लाहरुमा अघिल्लो स्थानीय तहको निर्वाचनमा पार्टीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनले नेताहरुलाई बधाई ज्ञापन समेत गरे । स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको सफलतालाई आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा दोहोर्याउनको लागि जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिए ।
स्थानिय तह चुनावमा नेता तथा कार्यकर्ताले गरेको मिहिनेतले मधेश प्रदेशमा नेपाली कांग्रेसले बलियो जनादेश पाएको उनले जिकिर गरे ।
मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश चुनावमार्पmत बहुमतको सरकार बनाउनको निमित जनताले चाहे जस्तो काम गरेर देखाउने समय आएको उनले टिप्पणी गरे ।
घर घरमा पुगी जनताको समस्या पहिचान गरी समाधान गर्न निम्ति कार्ययोजनाको खाका तयार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । कार्ययोजनाको खाका पार्टीका जिल्ला सभापतिलाई बुझाउन उनले सुझाए ।
कांग्रेसले लोकतन्त्रका लागि गरेको बलिदानी सम्झिदै यसलाई जोगाउने नेपाली कांग्रेसका नेता र कार्यकर्ताको दायित्व रहेको उनले बताए ।
पार्टी भित्रको गुट उपगुट त्याग गरेर सबै एकजुट भएर पार्टीका लागि काम गर्नुपर्ने धारणा उनको थियो ।
नेपाली कांग्रेसलाई धनुषाका जनताले संधै माया गरेका हुन, उनले भने–उनीहरुको मायालाई धनुषाका नेता तथा कार्यकर्ताले कहिल्यै नभुलेर संकल्पका साथ काम गर्नुपर्छ ।
कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मंन्त्री राम सरोज यादव, पूर्वमन्त्री राम कृष्ण यादव, पूर्व सभासद दिनेश प्रसैला, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार, नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह, प्रेम शंकर साह, डा.शोभाकर पराजुली, नगराईन नगरपालिकाका मेयर राम विनय यादव, जगदिश मंडल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech