जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आर्थिक बर्ष २०७४÷०७५ मा भएको रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर यादवसहित सात जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । यादवविरुद्ध मेयरको रुपमा नभई रंगशाला निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकको रुपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
जिल्ला खेलकुद विकास समिति र न्यू गहिल कन्स्ट्रक्सनबीच सम्झौता भएको निर्माण कार्यमा यादवले २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ काम गरेको भन्दा बढी भुक्तानी लिएको देखिएको अख्तियारको भनाइ छ ।
न्यू गहिल कन्स्ट्रक्सन र सञ्चालक यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कन्स्ट्रक्सन र सञ्चालक यादवको हकमा २ लाख ६३ हजार ४६८ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) अनुसार कैद एवं जरिवाना र बिगो जफत गर्न माग गरिएको छ ।
अख्तियारले रंगशालाको स्तरन्नोति काममा अनियमितता गरेको भन्दै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई १० लाख ६३ हजार ९६२, जिल्ला विकास समितितका तत्कालिन इन्जिनियर विकास श्रेष्ठविरुद्ध १३ लाख २७ हजार ४३०, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालिन प्रमुख लक्ष्मण मण्डलबिरुद्ध ५ लाख ६९ हजार ८१० बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech