संसारमा अन्य देशहरूले मरुभूमिलाई हरियालीमा परिणत गरिरहेका छन् । हामी चाहिँ भएको हरियाली समेत संरक्षण गर्न नसकेर मरुभूमिकरणतर्फ उन्मुख भइरहेका छौं । चुरे–तराई मधेशमा रहेको खडेरीको समस्यालाई दीर्घकालीन रूपमा न्यूनीकरण र निवारण गर्न स्थानीय जनतासँगको सहकार्यमा वर्षातको पानी संकलन, जल तथा जलाधार व्यवस्थापनका कार्यक्रम कार्यान्वयन गर्न अत्यावश्यक देखिन्छ ।

इजरायल, भारतको राजस्थान लगायत सुक्खाग्रस्त भूभागमा जल तथा जलाधार व्यवस्थापनका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरी आत्मनिर्भर भएका विभिन्न उदाहरण देख्‍न सकिन्छ । हामीकहाँ बहस मात्र भए, काम भएन । समस्या पहिचान भए, समाधानका दिगो उपाय पहिचान हुन सकेनन्, कतिपय अवस्थामा योजना कार्यान्वयन हुन सकेनन् । धेरै नीति र आयोजना आए पनि चुरे संरक्षण हुनुको साटो झन् मासिँदै गएको छ ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरी कार्यान्वयन गरेको आठ वर्ष भइसकेको छ । यस कार्यक्रममा अर्बौ खर्च भइसक्दा पनि राष्ट्रिय स्तरमा ठोस प्रतिफल देखिएको छैन । चुरे क्षेत्रमै केन्द्रित भएर योजना कार्यान्वयन गर्ने निकाय छैन । समग्र चुरे क्षेत्रको जलस्रोत, भू–उपयोग व्यवस्थापन, सडक तथा पूर्वाधार निर्माण, वन संरक्षणलाई समेट्ने गरी योजना र कार्यान्वयन निकाय गठन गर्नुपर्ने देखिन्छ ।

हालको अवस्थामा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले अरू सम्बद्ध निकायलाई बजेट दिई कार्यक्रम कार्यान्वयन गरिरहेको छ । उक्त समितिको दरबन्दी हेर्दा वन संरक्षणलाई केन्द्रमा राखेको देखिन्छ । जलस्रोत, भूमि व्यवस्थापन, जलाधार व्यवस्थापन, खानी व्यवस्थापन, वन संरक्षण, पूर्वाधार निर्माण सबैलाई एकीकृत हुने गरी कार्यक्रम र कार्ययोजना ल्याउन जरुरी देखिन्छ ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन नहुनु मात्रै चुरे–तराईको संरक्षण हो भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ । प्राविधिक रूपमा उपयुक्त देखिएका स्थानमा नियन्त्रित उत्खननसँगै अन्य कार्यक्रम पनि लागू गरिनुपर्छ । साथै, उत्खननका लागि स्थानीय पालिकाले सीधै क्रसर व्यवसायलाई ठेक्का लगाउनेभन्दा सरकार आफैंले उत्खनन गरेर घाटगद्दी गर्ने र त्यहाँबाट बल्ल ठेक्का लगाउँदा अनियन्त्रित उत्खनन न्यूनीकरण हुनसक्छ । चुरे बहुआयामिक पक्षसँग जोडिएको क्षेत्र भएकाले यसका सामाजिक–आर्थिक–वातावरणीय–प्राविधिक पाटोलाई ध्यान दिँदै यसको दिगो व्यवथापन, संरक्षण र उपयोग गरिनुपर्छ ।

 

सम्बन्धित खवर