वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
वीरगञ्जमा सम्पन्न जसपाको केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिएको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुइ दुइ पटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले प्रतिगमनलाई परास्त गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाएका कारण गठबन्धनको निरन्तरता पार्टीले आवश्यक ठानेको यादवले बताए ।
उनले भने ,‘ यद्यपि स्थानीय निर्वाचनमा हाम्रोे पार्टीका केहि तिता अनुभव पनि छ, तर मुलुुकका लागि गठबन्धन अहिले पनि आवश्यक ठानेका छौ , त्यहि भएर आगामी निर्वाचनमा पनि हामी तालमेल गरेर जान्छौ ।
अध्यक्ष यादवले डा. बाबुराम भट्टराईले गल्ती स्वीकार गरेर फिर्ता आएमा पार्टीले स्वागत गर्ने बताएका छन् ।
अध्यक्ष यादवले आफ्नो गल्ती स्वीकार्दै फिर्ता आउन खोजे डा. भट्टराईलाई पार्टीले स्वागत गर्ने बताए । ‘आफ्नो गल्ती स्वीकार्दै फिर्ता आउनु हुन्छ भने हामी उहाँलाई स्वागत गर्छौं, उनले भने–तर, अर्कै पार्टी खोल्छु भनेर जानुभयो भने हामी उहाँलाई रोकदैनौं ।’ जसपाले छुट्टै केन्द्रीय समितिको बैठक गरेका नेता भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ ।
बिहिबार सम्पन्न जसपाको केन्द्रीय समितिको बैठकले डा. भट्टराईसहित ९ जनाले पार्टीको विधान विपरित काम गरेको आरोप लगाउँदै सम्पूर्ण पदहरुबाट पदमुक्त गर्दै कारवाही गरेको थियो ।
अध्यक्ष यादवले डा. भट्टराईसहित केन्द्रिय कार्यकारिणी सदस्य महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दान बहादुर चौधरी र भक्त बहादुर शाहलाई कारवाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
डा. बाबुराम भट्टराईले जसपालाई फुटाउने गरेको प्रयास असफल भएको बताउँदै उनी नयाँ पार्टी दर्ता गराउने प्रक्रियामा अगाडि बढेको हुँदा उनी लगायत ९ जनालाई पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष यादवले बताए । डा. भट्टराईलाई पदीय जिम्मेवारीबाट मुक्त गरिएपनि पार्टीले उनलाई निष्कासन भने गरेको छैन् ।
‘डा. बाबुराम भट्टराईले पार्टी विभाजन गर्ने गरी गुटको बैठक बोलाउनुभयो उनले भने– यो गलत कार्य थियो । यो पार्टीको नीति, घोषित सिद्धान्तका विपरित, पार्टी अनुसासनका विपरित छ,’ अध्यक्ष यादवले भने, ‘उहाँहरु अहिले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी खोल्ने प्रयासमा हुनुहुन्छ । त्यसैले उहाँ लगायत ९ जनालाई कारवाही गर्ने हामीले निर्णय गरेका छौँ ।’
केन्द्रीय समितिको बैठकले सर्वसम्मतरुपमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई पार्टीको सङ्घीय परिषद् अध्यक्षमा चयन गरेको अध्यक्ष यादवले बताए । बैठकले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कांग्रेससहितको पाँच दलीय गठबन्धनमै लड्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय गरिएको बताए ।
दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनका लागि सङ्गठनका सबै तहमा तयारी गर्ने निर्णय गरेको उनले बताए ।
नवनियुक्त संघीय परिषद् अध्यक्ष राईले पार्टीको घोषित लक्ष्य तथा उद्देश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा सङ्गठनात्मक निर्णय गरेको जानकारी दिए । उनले पार्टी फुटाउने, सङ्गठनलाई कमजोर पार्नेजस्ता गतिविधिले पार्टीलाई कमजोर गर्नुको सट्टा थप बलियो र एकजुट बनाएको आरोप लगाए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech