मो.इन्तेखाब आलम
जनकपुरधाम । धान रोपाईको मुख्य समय असार महिना बितिसकेपनि धनुषासहित तराई मधेशका जिल्लाहरुमा मलको समस्या कायमै छ । वर्षा नहुँदा खेत सुख्खा छ । कृत्रिम सिचाई गरेर रोपाइ गरिएको धानमा मल हाल्न पाएको छैन् । सरकारले यस वर्ष पनि गत वर्ष झै किसानलाई मल पर्याप्त रुपमा उपलब्ध नगराउँदा खेती गर्न समस्या उत्पन्न भएको जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाका किसान मो.भुटवाले बताए । समयमा वर्षा भयो उनले भने–तर मल पर्खिरहे । अब त झन वर्षा पनि भएको छैन, मल त छदै छैन् । दोहोरो समस्या भएको उनले सुनाए । सरकारले न त सिचाईको व्यवस्था राम्रो ढंगले गरिदिएको छ उनले भने–न त मलको ।
स्यालो टयुबवेल, दमकल जस्ता सिचाई सामग्री सरकारले सहयोग गर्दै आएपनि ती सामग्री बाटोमै हराउने गरेको उनले गुनसो पोखे । कृषि सामग्री संस्थान लिमिटेडमा अहिले मल छैन । साउन पहिलो मात्रै मल आउने कृषि सामग्री संस्थान लिमिटेडका प्रमुख बेचन साहले बताए । मलको लागि दिनहु किसान कार्यालयमा आउने गरेपनि अभावमा मल उपलब्ध गराउन नसकेको उनले सुनाए । देश भरि मलको अभावले गर्दा धनुषाका किसानलाई पनि खेती गर्नमा समस्या उत्पन्न भएको उनले स्वीकार गरे । कृषि सामग्री संस्थान लिमिटेडमा अहिले ४७ टन यूरिया मल रहेको उनले बताए । नेपालमा करिब ७ लाख मेट्रिक टन मलको आवश्यक्ता रहेको तथ्यांकले बताउँछ । हाल देशभरि करिब ३ लाख मेट्रिक टनको हाराहारीमा मल आपूर्ती भइरहेको छ । पालिकामा उपप्रमुखको संयोजकत्वमा मलको आपूर्ती व्यवस्थापन तथा मूल्य निर्धारण गरिएको छ । युरिया प्रति बोरा ८०२ रुपैयाँ, डीएपी २२५१ रुपैयाँ र पोटास १६८१ रुपैयाँ प्रति बोरा रहेको उनले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech