सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा अनियमित विद्युत कटौती बढेको छ । जनकपुरधाममा विनासूचना विद्युत् कटौती हुने गरेको छ । गर्मीको समयमा अनियमित विद्युत् कटौती हुँदा नगरबासी र व्यापारीलाई समस्या भएको छ । लोडसेडिङ छैन तर बिजुली गइरहन्छ । आइहाल्यो भने स्वीच नथिच्दै गइसकेको हुन्छ । दिनमा मात्रै होइन राति पनि बिजुलीको समस्या देखिएको छ । पटक पटक विजुली काटिदा चर्को गर्मीमा रात बिताउन मुस्किल भएको छ । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण शाखा प्रमुख गैरजिम्मेवार देखिन्छ । उनी रातिको १० नबज्दै मोबाइलको स्वीच अफ गर्छन् । अन्य कर्मचारीलाई सम्पर्क गर्दा हाकिम लाई भन्न भन्छ । हाकिमको मोबाइलको स्वीच अफ हुन्छ । राति दुई घण्टासम्म विद्युत आपूर्ती कटौती गरेर प्राधिकरणले नगरबासीलाई दिक्क बनाएका छन् । विद्युत आपूर्ती नियमित पार्नुपर्ने माग लिएर जनकपुर उद्योग वाणिज्य संघले शुक्रबार वितरण प्रमुखलाई ज्ञापन समेत बुझाए । ज्ञापन बुझाएर फर्केपछि समस्या ज्यूकात्यू । शुक्रबार राति पनि पटक पटक विद्युत आपूर्ती कटौती गरिएको छ ।
विद्युत् प्राधिकरणले विनासूचना विद्युत् कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ । पटक–पटक गरी दैनिक चार घण्टा विद्युत् जाने गरेको छ । विद्युत प्राधिकरणसित यसको कुनै जवाफ छैन् । प्राधिकरणको सेवा प्रवाह केही महिनादेखि कमजोर हुँदै गएको अनुमान गर्न सकिन्छ । पूर्ववतका वितरण प्रमुखहरुले सेवा प्रवाहमा सुधार गर्दा नगरमा विद्युतको समस्या समाधान भएको थियो । विद्युत समस्या आएको एरियामा तुरुन्त मर्मत गर्न कर्मचारी जाने गरेको थियो । तर अहिले घण्टौसम्म कुर्नुपर्ने अवस्था छ । कर्मचारीले अटेर गरेको हो की वितरण प्रमुखले काम लिन नसकेको हो । कारण जेहोस् । यसको मार भने नगरबासीलाई परेको छ । चर्को गर्मीमा बिद्युत कटौती हुँदा गर्मी थेग्न मुस्किल भएको छ । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण शाखाले तत्काल यस्तो समस्या समाधान गरेर राजधानी मा बसेको अनुभूति गराउनुपर्छ । विद्युत भार बढेको छ भने थपेर यस्तो समस्या समाधान गर्नुपर्छ । प्रदेशको राजधानी रहेको जनकपुरधाममा आधारभूत आवश्यक्ताहरु भने पूरा हुनुपर्छ । जनकपुरधाममा बसेका नागरिकलाई राजधानीमा बसेको अनुभूति गराउनु प्राधिकरणको पनि जिम्मेवारी छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech