वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाको सभामा झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् । शुक्रबारको लागि राखिएको गाउँसभामा जनता समाजवादी पार्टी(जसपा) र नेपाली कांग्रेसका कार्यकर्ता बीच भडप भएको थियो । झडपमा परी वडा नम्बर ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित ५ जना घाईते भएका छन् । वडाध्यक्ष पटेलको गालामा चोट लागेको छ । अन्य घाईतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ । त्यसैगरि वडा नम्बर ४ बस्ने महम्मद गफार मिया, महम्मद एकबाल मिया, अकबर मिया र विजय चौरसिया घाईते भएका छन् । घाईते मध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । यता घटनामा संलग्न रहेको आरोपमा ध्रुव साहलाई नियन्त्रणमा लिईएको छ । कालिकामाई गाउँपालिकामा अध्यक्ष जसपा र उपाध्यक्ष कांगे्रका छन् । उपाध्यक्षले बजेटमा आधा भाग खोजेपछि गएको असार १० गतेदेखि पटक पटक गाउँसभा स्थगित हुँदै आएको छ । शुक्रबारको लागि तोकिएको गाउँसभामा पनि उपाध्यक्ष पक्षले विरोध गरेपछि सभा स्थगित गरिएको थियो । सभा स्थगित भएपछि दुवै पक्षबीच झडप भएको स्थानीयले बताए । शुक्रबारको स्थगित गरिएको बैठक शनिबारको लागि राखिएपछि स्थिति अनियन्त्रित हुँदा अनिश्चितकालको लागि बैठक स्थगित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले जारी गरेको सूचनामा उल्लेख छ ।
गाउँ सभामा नै प्रहरी टोली खटिएको थियो । झडप भयो भनेपछि थप टोली पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।
वडा नम्बर ३ बालुवाकट्टी जाने बाटोमा काँग्रेस र जसपाको कार्यकर्ताबीच झडप भएको थियो । जसमा ५ जना घाईते भएका छन् जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालले बताए । कालिकामाई गाउँपालिकाको अध्यक्षमा जसपाका वशिष्ठ कुमार निर्वाचित भएका छन् भने उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी निर्वाचित भएकी छन् । बरैनी जसपाकी प्रत्यासी सहानी खातुनलाई २३ मतको झिनो अन्तरले पराजित गरेकी थिइन् । पालिकामा स्पष्ट बहुमत कुनै पार्टीको छैन् । जसपाले पालिका अध्यक्ष र तीन वडाध्यक्षसहित १३ सदस्य जितेको छ । कांग्रेसले उपाध्यक्ष र एक वडाध्यक्षसहित १२ सदस्य जितेको छ भने एक वडाध्यक्षसहित दुई सदस्य एमालेको छ । स्पष्ट बहुमत नहुँदा अध्यक्ष र उपाध्यक्ष बीच सुरुदेखि विवाद देखिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech