वीरगञ्ज । परीक्षा केन्द्रको विषयलाई लिएर विद्यार्थीहरुले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तोडफोड तथा आगजनी गरेका छन् । परीक्षा सेन्टर वीरगञ्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशित विद्यार्थीहरुको समुहले शुक्रबार साँझ क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षका टेबुल, कुर्सी, बेन्च र सोफा बाहिर निकालेर आगजनी गरेका हुन् । विद्यार्थीहरुले फर्निचरमा लगाएको आगो वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र बोलाएर आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले बताए ।
उनले भने ,‘ प्रहरी पुग्दा आगो लगाउनेहरु भागि सकेका थिए , अरु ५०÷६० जनाले भने परीक्षा सेन्टर अन्यत्र सारेको भन्दै क्याम्पस प्रमुख विरुद्ध नाराबाजी गरिरहेका थिए । ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परीक्षा सेन्टर सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परीक्षा बाराको कलैयास्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि विद्यार्थीहरुले आक्रोश पोख्दै तोडफोड र आगजनी गरेका हुन् ।
क्याम्पस प्रमुख उमेश चौरसियाले परीक्षा सेन्टर अन्यत्र सारिएको निहुमा क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय रहेको बताए । परीक्षा सेन्टर क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय परीक्षा बोर्डले तोक्ने भएकाले विद्यार्थीहरुले आफु पढेको शिक्षण संस्थामै क्षति पुरयाउनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।
क्याम्पसमा आगजनीको घटना सार्वजनिक भएपछि आगजनी गर्नैको चौतर्फी आलोचना भईरहेको छ । क्याम्पसको स्तरोन्नती गर्नको लागि विद्यार्थीहरुले आन्दोलन गर्नुपर्नेमा उल्टै परीक्षा सेन्टर अन्यन्त्र सारेको निहुँमा क्याम्पसमा तोडफोड गरी आगजनस् गर्नु अत्यन्तै दुःखद घटना रहेका छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech