जनकपुरधाम । मधेश प्रदेश सरकारले दिने भनिएको भरणपोषण भत्ता र छात्रवृत्तिबाट शहीद परिवार बञ्चित भएका छन् । गृह तथा संचार मन्त्रालयमातहत रहेको मधेश शहीद प्रतिष्ठानले गएको असार १० गते सूचना जारी गरेर भरणपोषण भत्ता र छात्रवृत्तिको लागि दरखास्त आह्वान गरेको थियो । प्रतिष्ठानले आह्वान दरखास्त मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारले भरेका थिए ।
तर, असार महिनाको अन्त्यमा प्रतिष्ठानले रकम निकासा नगर्दा उनीहरु भरणपोषण भत्ता र छात्रवृत्तिबाट बञ्चित भएका छन् । प्रदेशका आठै जिल्लाका शहीद परिवारहरु जनकपुरस्थित प्रतिष्ठान पुगेर फारम भरेका थिए । आर्थिक वर्षको अन्तिम महिनामा दरखास्त आह्वान गरेपनि मधेश आन्दोलनका ४८ सहित १ सय ८० जनाले फारम दर्ता गराएका थिए ।
उनीहरुले भरणपोषण भत्ता वापत एक (असार) महिनाको २१ हजार र छात्रवृत्ति वापत नगद समेत पाउने थियो । तर, असार मसान्तको अन्तिम दिन सर्भर डाउन हुँदा भुक्तानी हुन नसकेको प्रतिष्ठानका प्रमुख छठु चौधरीले बताए । चौधरीका अनुसार अव असार महिनाको भरणपोषण भत्ता र छात्रवृत्ति शहीद परिवारले नपाउने भएको छ । असार २५ गते राति साढे १० बजेसम्म कुरेर बसेपनि भुक्तानी प्रक्रियाको सर्भर काम नगरेपछि बाध्य भएर छाडेको चौधरीले सुनाए । शहीद परिवारलाई भरणपोषण भत्ता र छात्रवृत्ति वितरण गर्नको लागि प्रदेश सरकारले एक करोड रुपैयाँ छुट्याएको थियो । तर, अन्तिम समयमा भुक्तानी नहुँदा फारम संकलन गरेर पनि एक करोड फ्रिज भएको छ । प्रदेश सरकारले पहिलो पटक शहीद परिवारलाई भरणपोषण भत्ता र छात्रवृत्ति वितरण गर्न लागेको थियो, चौधरीले भने–तर, प्राविधिक समस्याले गर्दा भुक्तानी हुन सकेन् ।
गत आर्थिक वर्षमा मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणवापत आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । शहीद परिवारको भरणपोषणवापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी शहीद प्रतिष्ठानमार्फत शहीद परिवारलाई मासिक रु २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने तयारी गरेको थियो ।
शहीद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागेको थियो । शहीद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई रु १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई रु १८ हजार एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिनको लागि दरखास्त आह्वान गरेको थियो । छात्रवृत्तिको लागि ३० शहीद परिवारले फारम भरेको प्रतिष्ठानका सदस्य रामनरेश यादवले बताए ।
शहीद परिवार समेत रहेका यादवका अनुसार आर्थिक रुपले विपन्न परिवारले दरखास्त आह्वान गरेका थिए । वडाको सिफारिसको आधारमा उनीहरुले प्रतिष्ठानमा फारम जम्मा गरेका थिए । भरणपोषण भत्ता लिनका लागि शहीद परिवारलाई शहीद घोषणा भएको प्रमाण पत्र, शहीद र आश्रित व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र, शहीदको एकाघरका पति÷पत्नी, छोरा, अविवाहित छोरी, आमा, बुवा भएको स्थानीय तहबाट नाता प्रमाणित, ‘क’ वर्गको बैङ्कमा रहेको खाता नम्बर र पान नम्बर पेस गरेका थिए । छात्रवृत्ति पाउनका लागि शहीद भएको घोषणा पत्र, स्थानीय तहबाट फोटोसहितको शहीदको छोरा वा अविवाहित छोरी रहेको नाता प्रमाणित, विद्यालयको सिफारिस, नागरिकता वा जन्म दर्ताको प्रतिलिपि, ‘क’ वर्गको बैङ्कको खाता नम्बर र पान नम्बर बुझाएका थिए ।
प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी भरणपोषण बापत आर्थिक सहयोग उपलब्ध गराउने निणर्य गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech