जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा (एकीकृत समाजवादी) को ठुलो हिस्सा एमाले प्रवेश गर्न लागेको दावी गरेका छन् ।
जनकपुरधाममा पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको ठूलो हिस्सा एमालेमा प्रवेश गर्न लागेको बताए । माओवादीमा प्रवेश गरेपनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तित्व जोगाउन गाह्रो छ । माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ’ उनले भने, ‘जनयुद्धलाई आधार मानेर हाम्रा नीति तथा कार्यक्रमहरु विघटित भएका छन् त्यो मानेर माधवजीलाई जानुपर्छ । तर, त्यो मान्न उहाँलाई गाह्रो छ । त्यसैले उहाँ जान पनि सक्नुहुन्न ।’
उपाध्यक्ष पाण्डेले अघि भने, ‘तर हामीले पनि निमोठेर ल्याउँला भन्नुहुन्न । आउने साथीलाई बडो स्वागतका साथ पार्टीमा ल्याउनुपर्छ । जति धेरै मान्छे आउँछ त्यति राम्रो हुन्छ ।’
गठबन्धनलाई एक्लै कसरी जित्ने र गठबन्धन भए त्यसको तालमेलसहित दुई मुद्दामा एमाले केन्द्रित हुनुपर्ने तर्क उनले गरे । आगामी निर्वाचनमा नेकपा एमालेको सामना नेपाली कांग्रेसँग नै हुने उनले दावी गरे । एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेस रहेकोले उनले नेता कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन समेत दिए ।
नेता पाण्डेले प्रचण्ड चिन र भारत दुईमुखी हुन खोज्नु र प्रधानमन्त्री देउवाले अमेरिकालाई काखी च्याप्दा मुलुक समस्यातर्फ धकेलिएको उनले जिकिर गरे ।
दिल्ली बिमानस्थलमा प्रचण्डले भारत पछि चिनको यात्रा गर्छु भनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई भेट्न नचाहेको नेता पाण्डेले दावी गरे । चिनको नाम लिएकै कारण भारतीय प्रधानमन्त्रीले प्रचण्डलाई भेट्न नमानेको आफुहरुलाई जानकारी आएको उनले दावी गरे । कुटनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका सहयोगी प्रचण्ड दुवै अयोग्य सावित भएको उनले बताए ।
कार्यक्रममा पार्टी सचिव रघुविर महासेठले स्थानीय तहको मतभारको हरहिसाव राख्दै एकजुट भएर लागे एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादव, नेताहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, ज्वाला साह सहितको उपस्थिती रहेको छ ।
माओवादी केन्द्रका पनि केही नेताहरुसँग पार्टी प्रवेशको विषयमा कुराकानी भइरहेको उनले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech