मलगंवा । सर्लाहीको बागमती युवा क्लवका तीन खेलाडी २० वर्षमुनिको राष्ट्रिय टोलीमा छनौट भएका छन् । भारतमा हुन लागेको साफ यू–ट्वान्टी प्रतियोगिताको लागि अखिल नेपाल फुटवल संघ (एन्फा) ले सार्वजनिक गरेको खेलाडीको सूचीमा बागमती युवा क्लव बागमतीका तीन जना खेलाडी परेका हुन् । एन्फाले सार्वजनिक गरेको खेलाडीको सूची अनुसार बागमती यूवा क्लव बागमतीका खेलाडी अमर श्रेष्ठ, अभिषेक वाईवा र दिपेश चाम्लिङ राई छनौट भएका छन् ।

एन्फाले प्रतियोगिताको लागि २३ खेलाडीको नाम सार्वजनिक गरेको हो । सूची अनुसार अमर श्रेष्ठ र अभिषेक वाईवा डिफेन्डरमा र दिपेश चाम्लिङ राई फर्वाडमा खेल्ने छन् । तीनै जना खेलाडी क्लवमा समेत निकै अनुशासित र मिहेनती रहेका क्लवका महासचिव सागर मैनालीले बताए । यस क्षेत्रमा निकै प्रतिष्ठित प्रतियोगिता राजर्षि जनक कप आयोजना गर्दै आएको बागमती यूवा क्लवले स्थानीय खेलाडीहरुलाई समेत प्रशिक्षित गरेर अवसर प्रदान गर्दै आएको छ । यसरी मोफसल क्लवका खेलाडी समेत राष्ट्रिय टिममा पर्नु निकै खुसीको कुरा भएको क्लवका सचिव कुमार प्रधानले बताए । स्थानीय स्तरमा रहेका प्रतिभालाई निखार्ने र तिखार्ने तथा क्लवलाई ए डिभिजनमा पु¥याउने लक्ष्य रहेको क्लवका अध्यक्ष किस्मत मैनालीको भनाई छ ।

बागमती यूवा क्लवले बागमती नगरपालिकासगँको सहकार्यमा पारिश्रमिकको समेत ब्यवस्थासहित खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने गरेको छ । नगरको समग्र विकासमा खेल क्षेत्र पनि महत्वपूर्ण रहेको बागमती नगरपालिकाका नगरप्रमुख भरत कुमार थापाको भनाई छ ।

खेल क्षेत्रलाई बागमती नगरपालिकाको पहिचान बनाउने उद्देश्य सहित आफूहरुले काम गरिरहेको मेयर थापाले बताए ।

सम्बन्धित खवर