मलगंवा । बजेट अभावका कारण सर्लाही जिल्लाको बरहथवादेखि वीरगञ्जसम्मको सडक निर्माण कार्यको जिम्मा बरहथवा नगरपालिकाले लिएको छ ।

कृषि एवं औद्योगिक पालिकाको रुपमा रहेको बरहथवादेखि बीरगंज महानगरपालिकासँग जोड्ने सडकको अधुरो काम बरहथवा नपाले गर्ने भएको छ । उक्त सडकमा पर्ने बागमती नदीको पुल निर्माण कार्य पूरा भइसकेको छ । ३८ महिनामा तयार भएको पुल ७५० मीटर लामो छ । संविधानसभा सदस्य हरि उप्रेतीले २०७२ सालमा उक्त पुलको शिलान्यास गरेका थिए ।

४८ करोडको लागतमा बागमती नदीमा पुल निर्माण कार्य सम्पन्न भएको छ । सर्लाही जिल्लाबाट देशकै सबैभन्दा ठुलो आर्थिक नगर बीरगंज जान दूरी र समयको हिसाबले पुर्व–पश्चिम राजमार्गको भन्दा बरहथवा भएर जान कम दुरी र समय लाग्ने भएको यस क्षेत्रका मानिसहरु यसै बाटोको प्रयोग गर्दै आएका थिए ।

यसअघि बागमती नदीमा पुल नहुँदा वर्षातको मौसममा नदीमा बाढी आउँदा मानिसहरुलाई सर्लाहीबाट रौतहट जिल्ला हुँदै बीरगंज जान राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता थियो । आफ्नो पहलमा बागमती नदीमा पुलको निर्माण कार्य सम्पन्न भई वर्षभरी नै उक्त सडक भएर आवतजावत सुचारु गराएको संविधानसभा सदस्य उप्रेतीले बताए ।

तर पुलको निर्माण कार्य सम्पन्न भएर आवतजावत सुचारु भएपनि केही स्थानमा बाटोहरु बिग्रिएका कारण ठुला–साना निजी तथा सार्वजनिक सवारीहरु भने चल्न सकेका छैनन् । जसले गर्दा यस क्षेत्रका बासिन्दालाई राजमार्गकै भर पर्नुपरेको छ ।

सर्लाहीको हजरियास्थित सहनी टोलदेखि बागमती पुलसम्मको सडक बरहथवा नगरपालिकाको मातहतमा परेको छ । उक्त सडकको निर्माण तथा मर्मतको जिम्मेवारी सोही पालिकाको भएको उप्रेतीले बताए । यसका लागि नगरप्रमुख कल्पना कटुवाल निर्माण विज्ञ तथा स्थानीयको साथमा हजरियादेखि बागमती पुलसम्मको सडकको निरिक्षण गरेका छन् ।

निरिक्षण गर्दै उनले बजेट अभावका कारण पुरा हुन नसकेको सडक निर्माणको काम आफुले पूरा गर्ने बताए । साथै उनले अबको केही दिनमै यस क्षेत्रका नागरिकहरु बीरगंज जानको लागि पुर्व–पश्चिम राजमार्गको साटो बरहथवाकै बाटो प्रयोग गर्ने छन् भनि प्रतिबद्धता समेत व्यक्त गरे ।

सम्बन्धित खवर