जनकपुरधाम । नवनिर्वाचित पालिका प्रमुख र उपप्रमुख बीच करारको कर्मचारीलाई लिएर टसल देखिएको छ । यसअघिका प्रमुखले करारमा नियुक्त गरेको कर्मचारी नवनिर्वाचित प्रमुखले धमाधम हटाउन थालेपछि उपप्रमुखले विरोध गर्दा टसल देखिएको हो ।

धनुषाको मिथिला नगरपालिकामा पनि करारको कर्मचारीलाई लिएर प्रमुख र उपप्रमुख बीच टसल भएको छ । मिथिला नगरपालिकाले करारमा कार्यरत कर्मचारी हटाउने निणर्यलाई उपमेयर सहितका बहुमत जनप्रतिनिधिले कर्मचारी हटाउने कार्यको विरोध गरेका छन् ।

उपमेयर सुनिता सिंह बुढाथोकी सहित अधिकांश वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरप्रमुख महेन्द्र महतोलाई मंगलबार एक ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारी हटाउने निणर्यको घोर भत्सर्ना गर्दै तत्काल निर्णय सच्चयाउन माग गरेका हुन् ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको ठाडो मौखिक आदेश र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा सेवा करारमा रहेका नगरपालिकाको कर्मचारीहरुलाई हटाउने कार्य विधि तथा प्रक्रिया सम्मत नभको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

कर्मचारी दरबन्दीको व्यवस्थ नगर कार्यपालिकाले गर्नु पर्ने साथै विगतमा करारको म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय कार्यपालिकाको बैठकबाट गराउने प्रावधान हुँदाहुँदै मेयर महतोले एकल निर्णय गरेको आरोप उनीहरुले लगाए ।

उक्त प्रावधानको पालना नगरी कार्यपालिकाको नियमित बैठक समेत नराखी कर्मचारीलाई हटाइएको कार्य प्रति उनीहरुले गम्भिर असहमती जनाएका छन् ।

कर्मचारीको म्याद थप्ने वा नथप्ने विषय कार्यपालिकाको बैठक बस्ने अवधि सम्म उनीहरुलाई सेवामा हाजिर हुने व्यवस्था गरिदिन ध्यानाकर्षण पत्र मार्फत आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रमा त्यसो नगरिए नगरपालिकाको विधि एवं पद्धतिका लागि गम्भिर निर्णय लिन बाध्य हुने चेतावनी दिइएको छ । मिथिला नगरपालिकाकी उपप्रमुख बुढाथोकीसहित वडा न. २ का वडाध्यक्ष बिहारी महतो र वडा नं. ३ का रामएकवाल महतोले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र नगर प्रमुख महेन्द्र महतोलाई बुझाएका हुन् ।

मधेश प्रदेशका पालिकाहरुले विगतमा नियुक्त गरिएको सेवा करारका कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नगराउने सूचना नै जारी गरेर कर्मचारी तर्साएका छन् । नगर प्रमुखले आप्mनो नजिकको व्यक्तिलाई नियुक्त गर्नको लागि निवर्तमान नगर प्रमुखले नियुक्त गरेका कर्मचारीहरुलाई हटाउन लागेका हुन् । नगर प्रमुखको एकल निर्णयको उपप्रमुखहरुले विरोध गरेका छन् । यसअघि सिरहामा पनि नगर प्रमुखको निर्णयलाई अस्वीकार गर्दै उपप्रमुखले सेवा करारका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएका थिए । सेवा करारका कर्मचारीको विषयलाई लिएर नगर प्रमुख र उपप्रमुख आमनेसामने देखिएका छन् ।

सम्बन्धित खवर