जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बुधबार तालाबन्दी गरेको छ ।

‘किसान आन्दोलन’ अन्तर्गत जनकपुरधाममा प्रदर्शन गर्दै जनमत पार्टीका कार्यकर्ताहरुले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा भ्रष्टाचारी भएको आरोप लगाउँदै जनमतका कार्यकर्ताले सो पार्टीका कार्यकर्ताहरु मन्त्री नभेटिएपछि तालाबन्दी गरेर फर्केका हुन् ।

किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीका लागि किसानहरु मन्त्रालयमा पुगेको पुगेका थिए ।

‘मन्त्रालयमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने, किसानको रकम भुक्तानी हुनुपर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने जनमतको छ ।

यसअघि जनमतका कार्यकर्ताहरुले किसान आन्दोलन अन्तर्गत सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । जनमत पार्टी सप्तरीले किसानप्रति ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाएको थियो ।

बिभिन्न ११ बुँदे माग राख्दै जनमतले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पठाएको हो ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मलखाद्य र बीऊको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, सिंचाइको व्यवस्था गर्नुपर्ने नसके सिंचाई विजुली निःशुल्क गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, वेमौसमी हावाहुरी र बर्षाले भएको बालीनाली क्षति वापत राहत दिनुपर्ने, फसलको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसान कार्ड देखाएर सीमा नाकाको बजारबाट मलखाद्य बीऊ कृषि औजारसहित सामान ल्याउन पाउनुपर्ने, किसानको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने माग ज्ञापनमा गरिएको छ ।

त्यस्तै, ज्ञापनमा स्वतः बालिनाली विमा हुने व्यवस्था गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुठ्ठा मुद्दा खारेज गर्नुपर्ने, गिरफ्तार आन्दोलनकारीहरुलाई निःशर्त रिहा गरी मुद्दा खारेज माग गरिएको छ ।

सम्बन्धित खवर